सुर्खेत । चैते दशैंको दिन घरमा खाना पकाउँदै गर्दा वीरेन्द्रनगर–१० बुदबुदी सुर्खेतको एक घरमा गोलीले टिनको पाता छेडेर भान्सामा खसेको छ । शनिबार विहान स्थानीय टिका रिजालसहित भान्सामा भएको बेला एक्काशी गोली घरभित्र खसेको हो ।
गोली कसले र किन चलायो भन्ने खुलेको छैन् । तर रिजालको घरमा खसेको गोलीले भान्सामा खस्दा प्लास्टिक र फिउस ९आल्मुनियम० को बाटामा प्वाल पारेको छ । गोली पड्कीको आवाज आएपछि आफूहरु भागेको रिजालको भनाई छ ।
अज्ञातस्थलबाट आएको गोलीका कारण स्थानीय त्रसित छन् । आज चैते दशैं भएकाले हर्ष बढाइ गर्ने क्रममा गोली घरमा खसेको अनुमान जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का बताउँछन् ।
‘नजिकैबाट गोली हानेको भए खोका पनि भेटिनुपर्ने हो, गोली खसेको घर आसपासमा खोज्दा भेटिएन्,’ खड्का भन्छन्, ‘प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान थालिसकेको छ । यद्यपी गोली भेटिएको घर आसपास नजिकै पड्काएको हैन, टाढै पड्काउँदा त्यहाँ खसेको अनुमान छ ।’
भेटिएको गोली एसएमजी, थ्रि नट थ्रि राइफल र एसएलआर हतियारमा लाग्ने हो । गोली भेटिएपछि गोलीको पहिचान र खसेको दिशा पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।