लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण

  ।   १० आश्विन २०८३, शनिबार १९:१६

कालीकोट । रास्कोट नगरपालिकाका दुई विद्यालयमा लैंगिक तथा अपाङ्गमैत्री सुविधासहितका शौचालय भवन र हात धुने धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ।

रास्कोट–४ विजयपुरस्थित श्री बडीमालिका माध्यमिक विद्यालयमा २१ लाख ५७ हजार ६३७ रुपैयाँ ६२ पैसा तथा रास्कोट–१ लहरेलास्थित श्री कालिका आधारभूत विद्यालयमा २३ लाख २५ हजार ५३३ रुपैयाँ ५६ पैसाको लागतमा तीनकोठे पक्की शौचालय निर्माण गरिएको हो।

दुवै विद्यालयमा गरी ४४ लाख ८३ हजार १७१ रुपैयाँ १८ पैसा खर्च भएको जनाइएको छ। निर्माण गरिएका संरचनामा बालमैत्री, लैंगिकमैत्री र अपाङ्गमैत्री सुविधाका साथै हात धुने व्यवस्था गरिएको छ।

वार्म नेष्ट फाउन्डेसनको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपाल र हुरेन्डेक नेपालको साझेदारी तथा रास्कोट नगरपालिकाको समन्वयमा सञ्चालित ‘रास्कोट महिनावारी स्वास्थ्य तथा खानेपानी तथा सरसफाइ स्वच्छता सुधार परियोजना’ अन्तर्गत संरचना निर्माण गरिएको हो।

नगरप्रमुख धर्मराज शाहीले नयाँ संरचनाले विद्यार्थीका लागि सुरक्षित तथा समावेशी विद्यालय वातावरण बनाउन सहयोग पुग्ने बताउनुभयो। हुरेन्डेक नेपालका अध्यक्ष गौरीकुमारी शाहीले संरचनासँगै विद्यार्थीमा सरसफाइ तथा स्वच्छताको व्यवहार विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो।