काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै पक्षलाई वार्ता र संवादमा सहभागी हुन अपिल गरेका छन्।
राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा नागरिकका माग तथा प्रश्नहरूको जवाफ सहमति, छलफल र आपसी समझदारीबाट खोजिनुपर्नेमा जोड दिएका छन्। “संयमता अपनाई वार्ता र संवादमै समाधान खोज्न सकिन्छ भन्ने विश्वाससहित म सबैलाई वार्तामा आउन आग्रह गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा उनले मुलुकलाई अस्थिरताबाट जोगाउन, जनतामा आशा जगाउन र लोकतन्त्रलाई सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
त्यस्तै, आन्दोलनरत नागरिकसँगै सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज र सरोकारवाला निकायलाई सहकार्य गर्न पनि राष्ट्रपतिले आह्वान गरेका छन्।