रतन बहादुर रावल ,
मुगु । हिमाली जिल्ला मुगुको झ्यारी गाउँस्थित महादेव युवा क्लबले श्रमदान र देउसी–भैलो खेली संकलित रकमबाट बर्खायामको बाढीपहिरोले बिगारेका बाटोघाटो तथा काठे पुलको मर्मत–सम्भार कार्य सम्पन्न गरेको छ।छायाँनाथ रारा नगरपालिका–८ झ्यारी गाउँमा वर्षौंदेखि समस्या बनेका गाउँका केहिँ महत्वपूर्ण मार्ग तथा पुलपुलेसा पुनःस्थापना भएपछि स्थानीयवासीले सहज आवागमन गर्न पाएको जनाएका छन्।
युवा क्लबका अध्यक्ष सुरेश रावल र सचिव डिजन रावलको नेतृत्वमा भएको यस अभियानमा गाउँका बासिन्दा, स्थानीय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूको सक्रिय सहभागिता रहेको क्लबले जनाएको छ। समुदायकै श्रम, सहयोग र देउसी–भैलोबाट संकलित सहयोग रकमकै आधारमा यो कार्य सम्भव भएको सचिव रावलले बताए।
यससँगै क्लबले झ्यारी गाउँमा साप्ताहिक सरसफाइ अभियान सुरु गरेको छ। स्थानीय दलित फोकाका ‘घट्ट खोलामा’ अवस्थित काठे पुलको साँघु मर्मतसँगै गाउँ सरसफाइ अभियानलाई सशक्त रूपमा अघि बढाइरहेको क्लबले जनाएको छ।
महादेव युवा क्लबले तयार पारेको म्यान्डेट अनुसार महिनाको हरेक शनिबार गाउँ–सरसफाई र महिनाको अन्तिम शनिबार रारा ताल क्षेत्रमा सरसफाई कार्य गर्ने निर्णय गरिएको छ। नेपालकै सुन्दर रारा ताल नजिक रहेको झ्यारी गाउँमा आउने पर्यटकलाई स्वागत तथा वातावरण संरक्षणका लागि पनि यो अभियान महत्वपूर्ण हुने क्लबको भनाइ छ।
सामाजिक रूपान्तरण, वातावरण संरक्षण र समुदायिक एकताको उदाहरण प्रस्तुत गरेको महादेव युवा क्लबको यो पहलप्रति स्थानीयवासी अत्यन्त उत्साहित देखिएका छन्।






