कालिकोट । कालिकोट जिल्ला स्तरीय बाल भेला सुरु भएको छ । बालबालिकाहरूका सवाल केन्द्रित छलफल तथा जिल्ला स्तरीय बाल सञ्जाल गठन गर्नका लागि बाल भेला आयोजना गरिएको हो ।
सामाजिक विकास कार्यालय कालिकोटको आयोजना, किर्डाक नेपालको सह- आयोजक पलान इन्टरनेसनल , शेभ द चिल्ड्रेन ,सिसिआर कर्णाली र हुरेन्डेक नेपालको सहयोग र सहकार्यमा आयोजित भेला २ दिनसम्म चल्ने छ ।
जिल्लाका बालबालिकाको सवालहरूमा छलफल गर्ने, बाल अधिकार बालबालिकासँग सम्बन्धित नीतिगत व्यवस्थाहरूको विश्लेषण गर्ने, बालबालिका सम्बन्धी कार्यविधि निर्माण गर्ने र जिल्ला बाल सञ्जाल गठन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहीले बाल भेलाको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटनमा शाहीले बालबालिकाहरू सिर्जनशील, लगनशील र इमान्दार भई देश र समाजलाई उन्नत बनाउनतिर अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो । आफ्नो भविष्य उज्ज्वल बनाउनका लागि आफै सचेत बन्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा राष्कोट नगरपालिका नगर प्रमुख धर्म राज शाहीले बाल भेलाको औचित्य महसुस गर्न सक्नुपर्ने बताउनुभयो । बालबालिकाहरूले नैतिकवान् नागरिक बन्नका लागि अग्रसर हुनुपर्ने बताउँदै उहाँले नैतिकवान् बन्न सके मात्रै जीवन जगत र भविष्यबारे थाहा पाउँन सकिने बताउनुभयो । बाल भेलाको अवसरमा सबै बालबालिकाहरूलाई असल मान्छे बन्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा तिलागुफा नगरपालिका नगर प्रमुख शंकरप्रसाद उपाध्याय , महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह भिजन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन भरतराज बिष्ठले गर्नुभएको थियो । जेष्ठ २ गतेसम्म चल्ने बाल भेलामा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहबाट बालबालिकाहरू सहभागी रहेका छन् । भेलाबाट जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिने जनाइएको छ ।