सडक निर्माणमा भ्रष्टाचार, तत्कालीन उपाध्यक्ष सहित १० जनाविरुद्ध मुद्दा

  ।   ६ श्रावण २०८३, बुधबार १७:२६

कालीकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालीन उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिएको बेल्केढुङ्गा–लेखनवाडा–दुर्सी–पागोटी सडक निर्माण योजना अन्तर्गत वास्तविक कार्यभन्दा बढी काम भएको देखाएर सरकारी कोषबाट रकम भुक्तानी गरिएको थियो। उक्त योजनाका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

अनुसन्धानबाट योजनामा १ हजार २०० घनमिटर ग्याभिन भरिएको भनी झुटो नापी किताब, कार्य सम्पन्न प्रतिवेदन तथा मूल्याङ्कन तयार गरी उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको खुलेको आयोगले जनाएको छ।

तर आयोगको प्राविधिक टोलीले स्थलगत नापजाँच गर्दा ९३९.५० घनमिटर मात्र ग्याभिन भरिएको पुष्टि भएको छ। यसरी वास्तविक कार्यभन्दा २६०.५० घनमिटर कम काम भएको अवस्थामा समेत पूर्ण भुक्तानी दिइएको र त्यसबाट नेपाल सरकारलाई ८ लाख ८ हजार ६ सय ८० रुपैयाँ ५७ पैसा बराबरको हानि–नोक्सानी पुगेको आयोगको निष्कर्ष छ।

यस प्रकरणमा आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह विरुद्ध बिगो बराबर जरिवाना तथा कैद सजायको माग गरेको छ।

त्यस्तै, गलत प्राविधिक प्रतिवेदन र भुक्तानी प्रक्रियामा सहमति जनाएको आरोपमा तत्कालीन उपाध्यक्ष दाना न्यौपाने र वडा नम्बर ९ का तत्कालीन वडा अध्यक्ष टक्कबहादुर बम विरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरिएको छ।

यस्तै, योजनाको उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलाक्षिना बम र सचिव कमलबहादुर बम विरुद्ध मुख्य अभियुक्तसरह सजाय तथा बिगो असुलउपरको माग गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक निर्माण कार्यमा झुटा प्राविधिक प्रतिवेदन तयार गरी सरकारी रकम दुरुपयोग गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने आयोगको नीति अनुरूप यो मुद्दा दायर गरिएको हो।

palata bigyapti

Next Post

रास्कोट जाँदै गरेको फोर्स गाडी कालेखोलामा दुर्घटना

६ श्रावण २०८३, बुधबार १७:२६
कालिकोट । रास्कोटतर्फ जाँदै गरेको फोर्स गाडी कालिकोटको कालेखोलामा दुर्घटना हुँदा दुई जना यात्रु सामान्य घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ज ०५९१ नम्बरको फोर्स गाडीमा सवार पाँच यात्रुमध्ये दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। उनीहरूले थप उपचार […]