हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोली काँजी हिमालमा पुग्न सफल भएको छ ।
विज्ञ टोली आइतबार बिहान तील गाउँबाट पैदल गएर दिउसो सो हिमालमा पुग्न सफल भएको हो । पाँच हजार ३५० मीटरमा उचाईमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको प्रमुख जिल्ला अधिकारी नारायण पा ण्डेयले बताउनु भयो। सो हिमालमा यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीन वटा ताल भेटिएको अध्ययन टोलीले बताएको उनले जानकारी दिनुभयो । गन्तव्य पुग्न टोली सफल भएको र थप केही पनि बताउन नचाहेको उनले बताउँदै आफ्नो प्रतिबेदनमा टोलीले सबै कुरा समेट्ने बताउनु भयो।
अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् । एक जना तील गाउँका स्थानीय पनि सहभागी भएका थिए । गत जेठ १ गते रातीको बाढी र पहिरोका कारण नाम्खा गाउँपालिका–६ तील गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका छन् ।