अपडेट

मुगुका रैथाने बाली चिनोको माग सहरसम्म, किसानलाई गाउँमै बजार

  ।   २० पुष २०८२, आईतवार १२:१५

मुगु । मुगु जिल्लाका विभिन्न गाउँबस्तीमा फल्ने लोपोन्मुख रैथाने खाद्यबाली चिनो पछिल्लो समय किसानको आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। औषधीय गुणयुक्त बालीको रूपमा चिनोको चर्चा बढेसँगै स्थानीय व्यापारीहरू गाउँमै पुगेर खरिद गर्न थालेपछि किसानहरू उत्साहित भएका छन्।

छायानाथ रारा नगरपालिका–६ का स्थानीय व्यापारी खड्क्या ऐडीका अनुसार चिनो मधुमेह र उच्च रक्तचापका बिरामीहरूका लागि लाभदायक मानिन थालेपछि यसको माग उल्लेख्य रूपमा बढेको हो। उहाँका अनुसार मुगुबाट सङ्कलन गरिएको चिनो काठमाडौँ, बुटवल, भैरहवा, नेपालगन्ज र सुर्खेतलगायतका सहरहरूमा आपूर्ति हुँदै आएको छ।

छायानाथ रारा नगरपालिका–७ का किसान रामबहादुर रावलले कुनै समय बजार नहुँदा चिनो खेती लगभग हराउँदै गएको स्मरण गर्नुभयो। “अहिले व्यापारीहरू आफैँ गाउँमा आएर खरिद गर्न थालेपछि फेरि किसानहरू चिनो उत्पादनतर्फ फर्किएका छन्,” उहाँले भन्नुभयो। हाल किसानहरूले प्रतिकेजी ६० रुपैयाँका दरले चिनो बिक्री गरिरहेका छन्।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा कर्णाली प्रदेशका रैथाने बाली संरक्षण गर्ने घोषणा गरे पनि सो नीति मुगुमा अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख केशव गिरीका अनुसार रैथाने बाली खरिदसम्बन्धी कुनै आधिकारिक निर्देशन नआएकाले किसानसँग चिनो खरिद गर्न नसकिएको हो।

छायानाथ रारा नगरपालिकाका सूचना अधिकारी लोगराज भट्टका अनुसार हाल जिल्लामा २१ हेक्टर क्षेत्रफलमा चिनो खेती हुँदै आएको छ, जसबाट करिब ४२ मेट्रिक टन उत्पादन भएको छ। नगरपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि किसानलाई अनुदानसमेत प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो।

स्थानीय तह र राज्यको प्रभावकारी सहयोग भएमा चिनो जस्ता रैथाने बालीले किसानको आय वृद्धि गर्नुका साथै कर्णालीको पहिचानलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ।

Next Post

सल्यानबाट एमाले कर्णाली अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा उम्मेदवारमा एकल सिफारिस

२० पुष २०८२, आईतवार १२:१५
सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सल्यान जिल्लाबाट एकल उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ । शुक्रबार सम्पन्न एमाले सल्यानको आठौँ पूर्ण बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । सल्यान […]