पूर्व एआइजी रणबहादुर चन्दलाई तारा बरालले झुटा मुद्दा र चरित्रहत्या गरेको आरोप

  ।   १८ जेष्ठ २०८३, सोमबार ११:४५

काठमाडौं । पूर्व एआइजी रणबहादुर चन्द ले आफू तथा अन्य व्यक्तिहरू सामाजिक अभियन्ता तारा बराल का गतिविधिबाट पीडित भएको दाबी गरेका छन्। चन्दले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक विस्तृत वक्तव्यमा बरालले आफू, टीका योगी, बलराम बोगटी र राजीव कार्कीविरुद्ध विभिन्न झुटा आरोप लगाउँदै मुद्दा दायर गरेको तथा सार्वजनिक रूपमा चरित्रहत्या गरेको आरोप लगाएका हुन्।

चन्दका अनुसार विवादको सुरुआत २०८० सालदेखि भएको हो। उनले बरालले टीका योगीविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक सामग्री प्रकाशित गरेको र त्यसपछि विभिन्न घटनालाई आधार बनाएर हत्या योजनासम्बन्धी आरोप सार्वजनिक गरेको बताएका छन्। चन्दले ती आरोपहरू अनुसन्धानका क्रममा पुष्टि नभएको दाबी गर्दै सम्बन्धित विषय हाल अदालतमा विचाराधीन रहेको उल्लेख गरेका छन्।

उनले बरालले संवाद डबलीमा पत्रकार सम्मेलन गरी टीका योगी, बलराम बोगटी तथा राजीव कार्कीमाथि गम्भीर आरोप लगाएको तथा त्यसपछि साइबरसम्बन्धी कानुनी प्रक्रिया अघि बढेको बताएका छन्। चन्दको भनाइमा, उक्त घटनापछि बरालले विभिन्न सरकारी निकाय तथा अदालतहरूमा उनीहरुविरुद्ध उजुरी र मुद्दा दर्ता गराउँदै आएको आरोप छ।

वक्तव्यमा चन्दले आफूलाई समेत बरालको “पति” भनेर विभिन्न निवेदन र उजुरीमा उल्लेख गरिएको दाबी गरेका छन्। उनले आफू र बरालबीच त्यस्तो कुनै सम्बन्ध नरहेको भन्दै सम्बन्धित निकायहरूमा पटक–पटक बयान र स्पष्टीकरण दिएको बताएका छन्।

माइतीघर मण्डलामा बरालले सञ्चालन गरिरहेको धर्ना तथा प्रदर्शनप्रति पनि चन्दले आपत्ति जनाएका छन्। उनले अदालतमा विचाराधीन विषयलाई सार्वजनिक ब्यानर र प्रदर्शनमार्फत एकपक्षीय रूपमा प्रस्तुत गरिएको आरोप लगाउँदै यसले आरोपित व्यक्तिहरूलाई मानसिक तनाव पुगेको बताएका छन्।
चन्दका अनुसार बरालले आफू, टीका योगी, बलराम बोगटी र राजीव कार्कीविरुद्ध विभिन्न अदालतमा १२ भन्दा बढी मुद्दा दायर गरेकी छन्। ती सबै मुद्दा हाल कानुनी प्रक्रियामा रहेको र आफूहरू अदालतको निष्पक्ष निर्णयको प्रतीक्षामा रहेको उनको भनाइ छ।

यता, तारा बरालको पक्षबाट भने यस विषयमा सार्वजनिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। विवादसँग सम्बन्धित आरोप–प्रत्यारोपहरू विभिन्न निकाय र अदालतमा विचाराधीन रहेकाले अन्तिम सत्यतथ्य सम्बन्धित निकायको अनुसन्धान तथा अदालतको निर्णयपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

Next Post

बोलेरो दुर्घटना: ३ जनाको मृत्यु, ५ जना घाइते

१८ जेष्ठ २०८३, सोमबार ११:४५
दैलेख । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका अन्तर्गत काल्गौडी क्षेत्रमा दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन। दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा […]