मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शुक्रबार बिहान गएको पहिरोमा परी एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्। निरन्तर वर्षापछि बजारमाथिबाट ढुङ्गासहित खसेको पहिरोले एक घर पूर्ण रूपमा पुरिँदा उक्त मानवीय क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार साउन ९ गते बिहान करिब ४: ०० बजे पुलु बजारमाथिबाट ढुङ्गासहितको पहिरो खसेर स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरिएको थियो। सोही घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल तथा३ वर्षीय छोरा रमेश बडुवालसुतिरहेको अवस्थामा पहिरोमा परेका थिए।
स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा पहिरोमा च्यापिएका तीनै जनाको उद्धार गरिएको थियो। गम्भीर घाइते अवस्थामा रहेका रमेश बडुवाललाई बिहान ४स:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याइएको भए पनि उपचारका क्रममा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते भएका जगनाथ र सृजना बडुवालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था स्थिर भए पनि थप चिकित्सकीय निगरानीमा राखिएको बताइएको छ।
पहिरोले पेमा लामाको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने पुलु बजारका अन्य ८ वटा घर समेत उच्च जोखिममा परेका छन्। पहिरो अझै सक्रिय रहने सम्भावना भएकाले जोखिमयुक्त घरका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ।
लगातारको वर्षासँगै हिमाली जिल्ला मुगुका विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढेकाले स्थानीय प्रशासनले नदी किनार, भीर तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक परे जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिने तयारी भइरहेको बताइएको छ।
यस घटनापछि पुलु बजार क्षेत्र त्रासमा रहेको छ। स्थानीयवासीले पहिरो नियन्त्रण, जोखिम न्यूनीकरण तथा प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रहरीले घटनास्थलको सुरक्षा व्यवस्थापन गर्नुका साथै जोखिमको थप मूल्याङ्कन भइरहेको जनाएको छ।








