रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले लोकसंस्कृतिको संरक्षणसँगै आठबिसकोट क्षेत्रको विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्।
आठबिसकोट नगरपालिका–७ र ८ मा आयोजित सत्ताइसौँ भदौ पूर्णिमा मेला २०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्रीद्वयले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणलाई समेत प्राथमिकताका साथ अघि बढाउने बताएका हुन्। आठबिसकोट नगरपालिकाको आधिकारिक विवरणमा पनि भदैपूर्णिमा मेला स्थानीय परम्परागत मेलाका रूपमा उल्लेख छ।
प्रमुख अतिथि मन्त्री खड्काले पुस्तौँदेखि चलिआएका स्थानीय लोकसंस्कृति, नाचगान तथा मौलिक परम्परा समुदायको पहिचान भएकाले यसको संरक्षण आवश्यक रहेको बताइन्। उनले मेला तथा सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृति नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।
मन्त्री खड्काले रुकुम पश्चिमबाट कर्णाली प्रदेश सरकारमा दुई महिला मन्त्रीको प्रतिनिधित्व हुनु अवसरसँगै जिम्मेवारी पनि भएको बताउँदै जनताले दिएको जिम्मेवारीलाई विकास र सेवामार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार तथा सामाजिक रूपान्तरणका विषयमा स्थानीय तहसँग सहकार्य गर्दै काम अघि बढाउने उनको भनाइ थियो।
‘सरकारमा रहँदा मात्र होइन, सरकार बाहिर हुँदा पनि जनताको पक्षमा काम गर्ने हाम्रो प्रतिबद्धता हो। आठबिसकोटलाई विकासको मूलधारमा जोड्न प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्छौँ,’ मन्त्री खड्काले भनिन्।
उनले प्रदेश सरकारले बजेटको अभावभन्दा पनि बजेट कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधान गर्नुपर्ने अवस्था रहेको बताइन्। प्रदेशका विभिन्न जिल्लामा पुगेर योजना कार्यान्वयनका समस्या, संस्थागत संरचना र विकासका आवश्यकताबारे जानकारी लिने काम भइरहेको उनले जानकारी दिइन्।
विशेष अतिथि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले आठबिसकोट क्षेत्रका सडक, पुललगायत पूर्वाधार विकासका योजनालाई प्राथमिकताका साथ अघि बढाउने दिइन्। स्थानीय जनप्रतिनिधि तथा नागरिकबाट प्राप्त विकासका योजनालाई मन्त्रालयस्तरबाट आवश्यक पहल र सहजीकरण गर्ने उनको प्रतिबद्धता थियो।
मन्त्री रोकाले निर्माण व्यवसायीका कारण कतिपय विकास आयोजना समयमा सम्पन्न हुन नसकेको उल्लेख गर्दै जिम्मेवारी लिएर काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने दिइन्। राम्रो काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्दै सम्झौताअनुसार काम नगर्ने पक्षलाई जिम्मेवार बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
उनले आठबिसकोट क्षेत्रको दीर्घकालीन विकासका लागि सडक सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिने बताउँदै स्थानीय तह र नागरिकले आफ्ना योजना तथा समस्या मन्त्रालयसम्म पुर्याउन आग्रह गरिन ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा नागरिकले सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका विकाससम्बन्धी माग मन्त्रीद्वयसमक्ष राखेका थिए। मन्त्रीद्वयले स्थानीय आवश्यकता र उपलब्ध बजेटको प्रभावकारी कार्यान्वयनमार्फत विकासलाई गति दिने प्रतिबद्धता जनाएका थिए।







