काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। दुवै दलका शीर्ष नेताले शुक्रबार सहमति पत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकार गठन र सञ्चालनका विषयमा साझा समझदारी गरेका हुन्।
सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।
सहमति पत्रअनुसार सातै प्रदेशमा दुवै दलले सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्। प्रदेश सरकारको नेतृत्व कोशी, बागमती र लुम्बिनी प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी ले गर्ने सहमति भएको छ।
यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप टुंगो लगाइने सहमति पत्रमा उल्लेख छ।
सहमति पत्रको प्रस्तावनामा प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र शान्तिपूर्ण विकासलाई गति दिन दुवै दल सहकार्य गर्न सहमत भएको जनाइएको छ।
दुवै दलले प्रदेश सरकारहरूलाई स्थायित्व प्रदान गर्दै जनअपेक्षाअनुसार विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।







