कालिकोट । खाँडाचक्र नगरपालिकाले नगरपालिकाभन्दा बाहिर विभिन्न जिल्लामा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको वडा नं. १ देखि ११ सम्मका स्थायी बासिन्दा भए पनि रोजगारी तथा अन्य कामको सिलसिलामा सुर्खेत, बाँके, कैलाली र बर्दिया जिल्लामा बसोबास गर्दै आएका लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार सुर्खेतको एरिचौकमा भदौ २१ र २२ गते, बाँकेको कोहलपुर चौराहामा भदौ २३ गते तथा कैलाली–बर्दियाको कर्णाली चिसापानी पुल नजिक भदौ २४ र २५ गते शिविर सञ्चालन हुनेछ।
पाँच दिन चार स्थानमा सेवा दिने बताईएको छ । नगरपालिकाका अनुसार सुर्खेतमा दुई दिन, बाँकेमा एक दिन तथा कैलाली–बर्दिया क्षेत्रमा दुई दिन गरी पाँच दिनसम्म शिविर सञ्चालन हुनेछ। नगरपालिकाले सम्बन्धित लाभग्राहीलाई तोकिएको मिति र स्थानमा आवश्यक कागजातसहित स्वयं उपस्थित भएर सेवा लिन आग्रह गरेको छ।
शिविरमा सहभागी हुने लाभग्राहीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
त्यस्तै, बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र र संरक्षकको राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, विधवाको हकमा मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपिसहित आवश्यक कागजात तथा अपाङ्गता भएका लाभग्राहीका लागि अपाङ्गता परिचयपत्र र जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्ने नगरपालिकाले जनाएको छ।
खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले नगरपालिकाबाहिर रहेका नागरिकलाई पनि स्थानीय सरकारको सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविरलाई निरन्तरता दिइएको बताउनुभयो।
उहाँका अनुसार नागरिकलाई सेवा लिनकै लागि टाढाबाट नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने बाध्यता कम गर्न गत वर्षदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको हो। “जनताको सरकार भनेकै स्थानीय सरकार हो। नागरिक जहाँ रहे पनि स्थानीय सरकारको सेवा पाउने वातावरण निर्माण गर्नु हाम्रो दायित्व हो,” नगर प्रमुख शाहीले भन्नुभयो, “गत वर्ष सञ्चालन गरिएको शिविरबाट लाभग्राहीले सहज रूपमा सेवा पाएका थिए। सोही अनुभवका आधारमा यस वर्ष पनि नगरपालिकाभन्दा बाहिर रहेका लाभग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरेका हौँ।”
नगर प्रमुख शाहीले लक्षित लाभग्राहीलाई तोकिएको मिति र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई सेवा लिनसमेत आग्रह गर्नुभएको छ।
सामाजिक सुरक्षा भत्ता नवीकरण तथा दर्तासम्बन्धी थप जानकारीका लागि नगरपालिकाका एमआईएस अपरेटर कलम बहादुर शाही, भिमप्रसाद पाण्डे र धिरेन्द बहादुर शाही सँग सम्पर्क गर्न सकिने जनाइएको छ।







