शुभकालिका गाउँपालिका वडा नं. २ स्थानीय बालमैत्री वडा घोषणा हुँदै

  ।   २ पुष २०८२, बुधबार १४:५१

छत्र रोका मगर
कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. २ लाई आगामी पुस ५ गते शनिबार स्थानीय बालमैत्री वडा घोषणा गरिने भएको छ। बालबालिकाको हक, अधिकार तथा सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ आवश्यक मापदण्ड तथा सूचकहरू पूरा भएपछि वडा बालमैत्री घोषणा गर्न लागिएको हो।

भिडिसेफ नेपाल कालिकोटका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीका अनुसार बालमैत्री वडा बनाउने अभियानअन्तर्गत शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र बाल सहभागितालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका छन्। बालश्रम, बालविवाह, हिंसा तथा शोषणविरुद्ध समुदायस्तरमै सचेतना अभिवृद्धि गरिएको छ भने बालबालिकालाई स्थानीय निर्णय प्रक्रियामा सहभागी गराउने अभ्यासलाई संस्थागत गरिएको छ।

भिडिसेफ नेपाल कालिकोटकी परियोजना संयोजक सरिता खत्रीले स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, आमा समूह, युवा क्लब तथा अन्य सरोकारवालाको सहकार्यमा वडा बालमैत्री मापदण्डअनुसार अघि बढेको जानकारी दिइन्। बालमैत्री वडा घोषणापछि बालबालिकाका लागि सुरक्षित खेलमैदान, अनुकूल सिकाइ वातावरण तथा बालमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताइएको छ।

स्थानीय जनप्रतिनिधिहरूले बालमैत्री वडा घोषणा केवल औपचारिक कार्यक्रम मात्र नभई व्यवहारमै कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले बालबालिकामा गरिने लगानी नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै निरन्तर अनुगमन र सुधार गरिने बताएका छन्।

कालिका माध्यमिक विद्यालय बालचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनसिंह बी.क. का अनुसार वडाभित्रका सबै टोलका विद्यार्थी नियमित रूपमा विद्यालय आउने गरेका छन्। यस्तै केला बी.क. र मिमसरा बी.क.ले पनि आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउने गरेको बताए।

बाल अभियानकर्ता अबिसरा विश्वकर्माले गाउँमा बालबालिकालाई निरन्तर विद्यालय जान प्रेरित गर्नुका साथै विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिइन्।

भिडिसेफ नेपाल कालिकोटका परियोजना व्यवस्थापक मनबहादुर शाहीका अनुसार बालमैत्री वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचक र २७ वटा चरणहरू सफलतापूर्वक पूरा भइसकेका छन्।

यसैबीच मंगलबार शुभकालिका गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष सन्तोष कामीको अध्यक्षतामा सम्पन्न अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका प्रवक्ता अजयबहादुर बम प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईं, सामाजिक विकास कार्यालय कालिकोटका प्रतिनिधि तिलक खत्री, शिक्षा शाखा प्रमुख नवराज आचार्य, स्वास्थ्य शाखा प्रतिनिधि, नागरिक समाज, प्रहरी चौकी, पालिकास्तरीय बालसञ्जाल अध्यक्ष विपिन धिताललगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा बालमैत्री अभ्यासबारे बृहत् छलफल समेत गरिएको थियो।

बालमैत्री वडा घोषणाले बाल अधिकार प्रवर्द्धन, सामाजिक उत्तरदायित्व अभिवृद्धि तथा दीगो विकास लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Next Post

प्रदेश, जिल्ला र पालिका तहबीच समन्वय बढाउन टेबल टप अभ्यास

२ पुष २०८२, बुधबार १४:५१
सुर्खेत । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा युरोपियन युनियनको आर्थिक सहयोगमा UNDP/UNICEF/UN Women तथा HI को संयुक्त साझेदारीमा, रोयम नेपाल र सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरणमा एकदिने टेबल टप कृत्रिम घटना अभ्यास बिरेन्द्रनगरमा गरिएको  छ। कार्यक्रम विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूको तयारी, समन्वय र प्रभावकारी प्रतिकार्य क्षमतालाई सुदृढ गर्ने उद्देश्यले आयोजना […]