सुर्खेत। काठमाडौंको पेप्सीकोला क्षेत्रस्थित छाप्रो सडकखण्डमा बुधबार राति भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ भने अर्का युवक घाइते भएका छन्।
बुधबार साँझ ८ः४५ बजे जडिबुटीतर्फबाट आउँदै गरेको बा.प्र.०१.००४ क–३२८७ नम्बरको पानी ट्यांकर र विपरीत दिशाबाट गइरहेको बा.प्र.०२–०३३ प–२५४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा काभ्रेको रोशी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको कोटेश्वर बसोबास गर्दै आएका २५ वर्षीय नवराज तुमसिंह मगरको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल पुर्याइएको थियो। तर, राति ९ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक २६ वर्षीय सन्तोष मगर पनि दुर्घटनामा घाइते भएका छन्। उनी कोटेश्वरमै बसोबास गर्दै आएका हुन्। हाल उनको समेत अस्पतालमा उपचार जारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपक गिरीले जानकारी दिए।
ट्यांकर चलाइरहेका धादिङ स्थायी घर भई काठमाडौंको जोरपाटी बसोबास गर्दै आएका ४७ वर्षीय रामबहादुर धापा अहिले प्रहरी नियन्त्रणमा छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







