अपडेट

कर्णालीको दुर्गम बाटो बाजुरामा बस दुर्घटना, तीन घाइते

  ।   ३० आश्विन २०८२, बिहीबार १५:३२

बाजुरा । हिमाल र पहाडबीचको साँघुरो घुम्ती र जोखिमपूर्ण सडकमा फेरि एकपटक दुर्घटनाले आक्रान्त बनाएको छ। हुम्लाबाट सुर्खेततर्फ गइरहेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको यात्रुवाहक बस बिहीबार दिउँसो करिब १२ः११ बजे बाजुराको जगन्नाथ गाउँपालिका–३, बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटनामा परेको हो।

बस अनियन्त्रित भई सडकबाट तल खस्दा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका–३ का १८ वर्षीय विशाल बिक, दैलेख दुल्लु नगरपालिका–२ की दिपा सोनाम, र बाजुरा जगन्नाथ गाउँपालिका–६ की ४५ वर्षीया प्रेमकला दमाई रहेका छन्।

तीनै जनाको अवस्था सामान्य रहेको र उनीहरूलाई बेर्मा बजारस्थित गोपाल मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको बेला बसमा २३ जना यात्रु सवार थिए। बसका चालक सुर्खेत भेरीगंगा नगरपालिका–११ का दिपक बिक रहेका छन्। प्रारम्भिक अनुमान अनुसार तीव्र घुम्ती र सडकको साँघुरोपनाका कारण बस अनियन्त्रित भएको हुन सक्ने प्रहरीले बताएको छ।

कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु, बाजुरा र जुम्ला जोड्ने यो मार्ग देशकै सबैभन्दा कठिन र जोखिमपूर्ण सडकहरूमध्ये एक मानिन्छ। वर्षायाममा पहिरो र हिउँदमा हिउँका कारण सडक यात्रा निकै चुनौतीपूर्ण हुन्छ। स्थानीयहरूका अनुसार “यो बाटोमा हरेक यात्रु ढुक्कसँग गन्तव्य पुग्दा आफूलाई भाग्यशाली ठान्छन्।”

कर्णालीको विकासका लागि यो सडक जीवनरेखा सरह भए पनि यसको मर्मत र सुरक्षाका उपाय अझै पर्याप्त छैनन्। दुर्घटनापछि स्थानीयवासी र यात्रुहरूले सडक विस्तार र सुरक्षाका पूर्वतयारीमा सरकारको ध्यान केन्द्रित गर्न माग गरेका छन्।

Next Post

खाँडाचक्र - ४ मा प्रथम ‘सन्तोष बिक स्मृति कप’ सुरु

३० आश्विन २०८२, बिहीबार १५:३२
खेलकुदले गाउँ र समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास मनोज बि.क कालिकोट । खाँडाचक्र नगरपालिका–४, कालिकोटमा आयोजना गरिएको प्रथम वडा स्तरीय सन्तोष बिक स्मृति कप–२०८२ भलिबल प्रतियोगिता भव्य समारोहबीच सुरु भएको छ। स्थानीय खेलमैदानमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष प्रभानन्द आचार्यले प्रतियोगिताको उद्घाटन गर्नुभयो। उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष आचार्यले […]