कालिकोट । कर्मचारी मिलन केन्द्र कालिकोटको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

शनिबार सम्पन्न साधारणसभाबाट अविराज शाही अध्यक्ष, धनबहादुर महतारा उपाध्यक्ष, पुनम विश्वकर्मा सचिव, रिता कुमारी पाण्डे सह–सचिव, हरिहर भट्टराई कोषाध्यक्ष, तथा निर्मल विष्ट, शक्ति सुनार, उपेन्द्रकुमार योगी, नविन भण्डारा, लालबहादुर शाही, मोर्चा शाही, बसन्ती कुमारी आचार्य र राजन अधिकारी सदस्यका रूपमा चयन भएका छन्। अध्यक्ष शाही सामाजिक बिकास कार्यालय कालिकोटका कार्यलय प्रमुख हुन ।
कार्यक्रममा जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला–स्तरीय सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, ट्रेड युनियनका प्रतिनिधिहरू, निबर्तमान पदाधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष अविराज शाहीले भने “कर्मचारी बीचको एकता केवल संगठनको शक्ति होइन, सुशासन र प्रभावकारी सेवाप्रवाहको आधार पनि हो। अबको हाम्रो प्रतिवद्धता भनेको सबै कर्मचारीलाई भावनात्मक, रचनात्मक र नवप्रवर्तनशील सोचसहित एकताबद्ध गर्दै राष्ट्र र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नु हो।”
शाहीले सबै सरोकारवालाहरूले दिएको सहयोग, सुझाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सुधार, समन्वय र सहकार्यलाई संस्थाको प्रमुख कार्यदिशा बनाइने बताए।
कर्मचारी मिलन केन्द्र कालिकोटले साधारणसभामा उपस्थित सबै महानुभावहरूलाई नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गर्न खेलेको सकारात्मक, सद्भावपूर्ण र सहयोगी भूमिकाका लागि हार्दिक धन्यवाद प्रकट गरेको छ।








