युवा प्रेरणा : भानु पाण्डे
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ३ ताडिको दुर्गम गाउँमा जन्मिएका भानु पाण्डेको जीवन कथा सुन्दा जो–कोहीको आँखामा चमक र मनमा जोश भरिन्छ।
स्वर्गीय बुवा रधुबिर पाण्डे र आमाको ममतामयी कोख, धनसरा पाण्डेको आशीर्वादबाट जन्मिएका उनीहरू ३ जना दाजुभाइ–बहिनी हुन् । परिवारमा जेठा दाजु नरेश पाण्डे हाल आफ्नो जीवनयापनका लागि ज्यान–तान गरेर घरायसी तथा श्रमशील काममा संलग्न छन् । जीवनका कठिनाइहरूलाई सामना गर्दै, उनले आफ्नो इमान्दार मेहनत र आत्मनिर्भर सोचका साथ परिवारको गौरव उच्च राखिरहेका छन् ।
सानै उमेरमा जीवनले उनीमाथि कठिन परीक्षा लिएको थियो। उनी जब मात्र ७ वर्षका थिए, तब उनका बुबा असामयिक रूपमा बित्नुभयो। परिवारको आधारस्तम्भ गुमाउँदा आमाको आँखामा आँसु र हृदयमा अपार पीडा थियो, र भानुको बाल्यकाल हतप्रभ पार्ने मोडमा पुगेको थियो।
बुबाको निधनपछि, परिवारलाई सघाउने अवसर र भविष्यको खोजीमा उनी काठमाडौँ आइपुगे। यहाँ उनले आफ्नो बाल्यकालको ठूलो हिस्सा बालगृहमा बिताए। बालगृहको चारदिवारभित्रै उनले कक्षा ३ देखि SLC सम्मको पढाइ पूरा गरे। आर्थिक अभावका कारण पुस्तक र कपडासम्म जुटाउन संघर्ष गर्नुपर्थ्यो, तर पढ्ने चाहना र केही बन्ने संकल्प कहिल्यै कमजोर भएन।
SLC सकेपछि उच्च शिक्षा हासिल गर्न र बाल्यकालदेखि अधुरो रहेको खेलाडी बन्ने सपना पुरा गर्न उनी श्रम बजारमा प्रवेश गरे। उनले होटलमा वेटरको काम सुरु गरे— बिहान पढाइ, दिउँसो वा बेलुकी होटलमा काम, अनि फुर्सदमा खेलकुदको अभ्यास। होटलबाट कमाएको आम्दानीले उनले आफ्नो पढाइ निरन्तरता मात्र होइन, लामो समयसम्म मार्शल आर्ट (Martial art) मा तालिम पनि लिए।
समयसँगै, भानुले आफ्नो सीपलाई समुदायमा फर्काउन थाले। अहिले उनी पहिले हुर्किएको त्यही बालगृहमा र विभिन्न विद्यालयहरूमा तेक्वान्दो प्रशिक्षण दिइरहेका छन्। यसबाट प्राप्त रकमले उनले आफू मात्र होइन, आफ्नी बहिनीको पढाइ खर्च समेत धानेका छन्। साथै, काठमाडौँमा बसेर घरमा रहेकि आमाको हेरचाह र स्वास्थ्यको जिम्मा पनि उनले नै उठाइरहेका छन्।
भानुको जीवन कठिनाइ, संघर्ष र अनुशासनको उत्कृष्ट उदाहरण हो। उनी भन्छन् — “जीवनमा परिस्थिति जस्तो आए पनि, लक्ष्य र मेहनत छोड्नु हुँदैन। संघर्षको बाटो नै सफलता पुग्ने हेतु हो।”
आज, भानु पाण्डे मात्र एक खेल प्रशिक्षक होइनन्, एक प्रेरणा हुन् जसले प्रमाणित गरेका छन् कि अभावको बीचबाट पनि उज्यालो भविष्य निर्माण गर्न सकिन्छ।