जुम्ला। शिक्षक आन्दोलनको २८ औं दिनसम्म पनि सरकारले कुनै स्पष्ट र प्रभावकारी कदम चाल्न नसकेको भन्दै जुम्लाका विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री समक्ष गम्भीर ध्यानाकर्षण गराएका छन्।
शिक्षकहरूले चैत २० गतेदेखि जारी राखेको आन्दोलनको प्रभावले मुलुकभरको पठनपाठन प्रभावित भइरहँदा पनि सरकारले शिक्षामाथि हस्तक्षेप गर्दै प्रहरी बल प्रयोग गरेको भन्दै विद्यार्थी समूहले घोर भर्त्सना गरेका छन्।
विद्यार्थीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा संविधानले सुनिश्चित गरेको शिक्षालाई मूलभूत हकका रूपमा कार्यान्वयन गर्न नसक्नु सरकारको असक्षमता भएको उल्लेख गरिएको छ। संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँटका कारण शिक्षाको नीति र व्यवस्थापनमा अन्यौलता देखिएको समेत पत्रमा भनिएको छ।
विद्यार्थी समूहले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै १० बुँदे मागहरू प्रस्तुत गरेका छन्, जसमा शिक्षकका जायज माग पूरा गर्न, शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न, निष्पक्ष संवाद गर्न, गुणस्तरीय शिक्षा नीति ल्याउन, परीक्षा समयमै लिनु पर्ने लगायतका विषयहरू छन्।
“यदि शीघ्र सुनुवाइ भएन भने हामी विद्यार्थी पनि आन्दोलनमा सहभागी हुनेछौं,” पत्रमा भनिएको छ।
शिक्षा प्रणालीको सुधार र आन्दोलनको शान्तिपूर्ण समाधानका लागि विद्यार्थीहरूले सरकारलाई जिम्मेवार बन्न आह्वान गरेका छन्। ‘विद्यार्थीको आवाज — शिक्षाको रक्षा! शिक्षकमाथि हस्तक्षेप — बन्द गर!’ भन्ने नारासहित उनीहरूले आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।








