सुर्खेत । बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
खापर गाउँपालिका ३ जुकोटको जुकुमा स्थानीय अमर कटेलको गोठबाट सुरु भएको आगो प्रकाश कटेल र पदम कटेलको घरमा सकिएर सखाप बनाएको स्थानीय परुनन्द न्यौपानेले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार शनिबार दिउँसो करिव १२ बजे गोठमा लागेको आगो सल्किएर अरु दुई जनाको घरमा पनि आगो सल्केर घरमा भएका अन्नपात,लुगा कपडा र भाँडाकुँडा सहित नगद जलेर नष्ट भएको छ ।
आगलागीबाट तीनै जनाको कच्ची माटोले बनाएका घर जलेर पूर्ण रुपमा क्षती भएका छन् । आगलागीबाट मानवीय र पशु चौपायामा कुनै क्षती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
स्थानीय र प्रहरीको सक्रियतामा आगो एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागिको कारण र क्षतीको विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिं भण्डारीले जानकारी दिएका छन् । आगलागी घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक भण्डारीले बताए ।
बिहीबार दिउँसो बुढीगंगा नगरपालिकामा पनि सामुदायिक वनमा लागेको आगो सल्किएर वडा नम्बर ४ का मोहन नेपालीको घरमा सल्किएर पूर्ण रुपमा क्षती भएको थियो । वनमा लागेको आगो सल्किएर घरमा आगलागी हुँदा घरमा भएका अन्नपात,लुगा कपडा,भाँडाकुँडा र नगद सकित जलेर नष्ट भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । आगलागिका घटना जिल्लामा दैनिक रुपमा बढ्दै गएको भएपनि स्थानीय विपद व्यवस्थापन समिति र स्थानीय पालिकाहरुले विपद प्रतिकार्यको कुनै चासो देखाएका छैनन् ।