अन्तरलिङ्गी तथा लैङ्गिक–यौनिक विविधताबारे सचेतना आवश्यक

  ।   २७ भाद्र २०८३, शनिबार १५:३९

सुर्खेत । अन्तरलिङ्गी तथा लैङ्गिक र यौनिक विविधता भएका व्यक्तिमाथि हुने सामाजिक भ्रम, पूर्वाग्रह, कलङ्क र विभेद न्यूनीकरणका लागि सचेतना तथा अन्तरक्रियालाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

अन्तरलिङ्गी तथा लैङ्गिक र यौनिक विविधतासम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागीहरूले विविध समुदायका व्यक्तिको पहिचान, अधिकार, सम्मान, समान अवसर र सामाजिक समावेशिता सुनिश्चित गर्न परिवार, समुदाय, सरकारी तथा गैरसरकारी संस्था, सञ्चार क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

एलजीबीटीआईक्यूए प्लससम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि सहितको कार्यक्रममा सहजीकरण तथा सञ्चालन विजय बी।के।ले गर्नुभएको थियो।

कार्यक्रममा अन्तरलिङ्गी व्यक्तिको अवस्था, जैविक लिङ्ग, यौन विशेषता, लैङ्गिकता, लैङ्गिक पहिचान, लैङ्गिक अभिव्यक्ति र यौनिक अभिमुखीकरणबीचको भिन्नताबारे जानकारी गराइएको थियो। सहभागीहरूलाई अन्तरलिङ्गी हुनु कुनै रोग, कमजोरी वा असामान्यता नभई मानव शरीरमा पाइने प्राकृतिक जैविक विविधता भएको विषयमा स्पष्ट पारिएको थियो।

कार्यक्रममा अन्तरलिङ्गी विविधता सबै व्यक्तिमा जन्मकै समयमा पहिचान नहुन सक्ने जानकारी दिइएको थियो। केही अवस्थामा गर्भावस्थाको परीक्षण वा जन्मका क्रममा पहिचान हुन सक्ने भए पनि कतिपय अवस्थामा किशोरावस्था, स्वास्थ्य परीक्षण, प्रजननसम्बन्धी जाँच वा अन्य स्वास्थ्य उपचारका क्रममा मात्र अवस्था पहिचान हुन सक्ने बताइएको थियो।

विश्वभर अन्तरलिङ्गी व्यक्तिको यकिन तथ्याङ्क उपलब्ध नभए पनि विभिन्न अध्ययन तथा विज्ञहरूको अनुमानअनुसार कुल जनसङ्ख्याको करिब १ दशमलव ७ देखि २ प्रतिशतसम्म व्यक्ति अन्तरलिङ्गी हुन सक्ने जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा एलजीबीटीआईक्यूए प्लसअन्तर्गत समलिङ्गी महिला, समलिङ्गी पुरुष, उभयलिङ्गी, पारलैङ्गिक, अन्तरलिङ्गी, क्वियर, अलैङ्गिक लगायतका विविध पहिचान र यौनिक अभिमुखीकरणबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रममा अन्तरलिङ्गी र पारलैङ्गिक एउटै विषय नभएको स्पष्ट पार्दै मनिशा मगरले कार्यक्रममा अन्तरलिङ्गी अवस्था जन्मजात यौन विशेषतासँग सम्बन्धित हुने तथा पारलैङ्गिकता व्यक्तिको लैङ्गिक पहिचानसँग सम्बन्धित हुने बताइएको थियो। त्यसैगरी, यौनिक अभिमुखीकरण व्यक्तिले अनुभव गर्ने भावनात्मक, रोमान्टिक वा यौन आकर्षणसँग सम्बन्धित विषय भएको स्पष्ट पारिन।

कार्यक्रमको अर्को चरणमा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी समूहगत छलफल गराइएको थियो। सहभागीहरूले आफ्ना संस्था तथा समुदायले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि गरिरहेका काम, संस्थागत कार्यक्रमहरूमा एलजीबीटीआईक्यूए प्लस व्यक्तिको सहभागिता तथा आगामी दिनमा सरकारी तथा अन्य संस्थासँग सहकार्य गरी गर्न सकिने कामबारे छलफल गरेका थिए।

समूहगत प्रस्तुतीकरणका क्रममा संस्थागत कार्यक्रमको योजना तथा कार्यान्वयनकै चरणदेखि लैङ्गिक तथा यौनिक विविधता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो। सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संस्थाबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने सुझावसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अन्तरलिङ्गी तथा अन्य लैङ्गिक र यौनिक विविधता भएका व्यक्तिहरूले परिवार, समुदाय, विद्यालय, स्वास्थ्य संस्था, रोजगारी, सार्वजनिक सेवा तथा राज्यका विभिन्न संरचनामा भोग्नुपर्ने विभेद, अपमान, बहिष्करण र सामाजिक कलङ्कबारे समेत छलफल गरिएको थियो।

विशेषगरी अन्तरलिङ्गी बालबालिकाको शारीरिक विविधतालाई लिएर हुने गलत बुझाइले उनीहरूको गोपनीयता, आत्मनिर्णय र शारीरिक अखण्डतामा असर पर्न सक्ने भन्दै बालबालिकालाई लाज, डर वा दबाबमा राख्नुको सट्टा माया, स्वीकार्यता, सुरक्षा र सम्मान प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमबाट सहभागीहरूमा अन्तरलिङ्गी तथा लैङ्गिक र यौनिक विविधतासम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि हुनुका साथै संस्थागत अभ्यासलाई पुनरावलोकन गर्दै आगामी कार्यक्रम तथा सेवाहरूलाई थप समावेशी बनाउने सम्भावनाबारे साझा बुझाइ विकास भएको आयोजकले जनाएको छ।

सहभागीहरूले विविध समुदायका व्यक्तिलाई दया वा सहानुभूतिको दृष्टिले नभई समान अधिकार, सम्मान, सुरक्षा, अवसर र मर्यादित जीवनको अधिकार भएका नागरिकका रूपमा व्यवहार गर्नुपर्ने बताएका थिए।

कार्यक्रमले लैङ्गिक तथा यौनिक विविधताको सवाललाई मानव अधिकार, समानता, सम्मान र सामाजिक न्यायसँग जोडेर बुझ्न महत्वपूर्ण आधार प्रदान गरेको निष्कर्ष निकालिएको छ। आगामी दिनमा पनि परिवार, समुदाय, सञ्चार क्षेत्र, सरकारी तथा गैरसरकारी संस्था र अन्य सरोकारवालाबीच सहकार्य विस्तार गर्दै विभेदरहित, सुरक्षित, सम्मानजनक र समावेशी वातावरण निर्माण गर्न निरन्तर पहल आवश्यक रहेकोमा जोड दिइएको छ।

कार्यक्रमको मूल सन्देश “विविधता प्रकृतिको विशेषता हो, विभेदको आधार होइन” भन्ने रहेको हो ।

Next Post

ग्यास वितरणमा बेथिति : उपभोक्ता मारमा, व्यापारीलाई मनपरीको छुट ?

२७ भाद्र २०८३, शनिबार १५:३९
सुर्खेत । वीरेन्द्रनगरमा एलपी ग्यास वितरणको सूचना, अनुगमन र व्यवस्थापनमा देखिएको कमजोरीप्रति उपभोक्ताले गम्भीर प्रश्न उठाएका छन्। आयल निगमले समयमै सार्वजनिक सूचना नदिने, प्रशासनले पर्याप्त अनुगमन नगर्ने र व्यापारीले आफूखुसी वितरण गर्ने अवस्था देखिएपछि सम्बन्धित सरकारी निकाय र ग्यास व्यवसायीबीच कुनै प्रकारको मिलेमतो त छैन ? भन्ने आशंका उपभोक्ताले व्यक्त […]