अपडेट

भोटेकोशी र त्रिशूली नदीमा बाढीपछि १,२५२ शव फेला, ४,८७५ जना अझै बेपत्ता

  ।   १८ भाद्र २०८३, बिहीबार १३:२०

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपालका विभिन्न आठ जिल्ला र भारतमा गरी १ हजार २५२ वटा शव तथा पार्थिव अवशेष फेला परेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फेला परेका पार्थिव अवशेषमध्ये केही अङ्गभङ्ग भएका छन्।

नारायणी नदीमा बगेर भारत पुगेका १८ वटा शव नवलपरासी पश्चिम ल्याइएको नेपाल प्रहरीले जनाएको छ। बाढीका कारण विभिन्न स्थानमा मानिस तथा शव माटोमुनि पुरिएको आशङ्का गरिएपछि प्रहरीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी गर्ने क्रममा थप शव फेला पर्ने क्रम जारी छ। कतिपय स्थानमा बाढी र पहिरोले मानिस तथा घरहरू पुरिएकाले बेपत्ता तथा मृतकको वास्तविक सङ्ख्या अझै यकिन हुन सकेको छैन।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३५५ वटा छन्। अन्य जिल्लाको रसुवा — १२७,नुवाकोट— १७७,धादिङ — ६०, चितवन — ३५५, गोरखा — ६९, तनहुँ — ३८ , नवलपरासी पूर्व — २१८, नवलपरासी पश्चिम — १९०, भारत — १८ यसरी नेपालका आठ जिल्ला र भारतमा गरी कुल १ हजार २५२ शव तथा पार्थिव अवशेष फेला परेका छन्।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये पहिचान खुलेपछि अहिलेसम्म ९५ वटा शव आफन्तले बुझेर लगेका छन्।

पहिचान हुन नसकेका शवलाई स्थानीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी अस्थायी रूपमा व्यवस्थापन गर्ने गरेको छ। शवको पहिचानका लागि प्रहरीले डीएनए परीक्षणसहितका प्रक्रिया अघि बढाएको जनाएको छ।

बाढीपछि ठूलो सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४ हजार २१६ जना सम्पर्कविहीन छन् भने ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये करिब ४ हजार जना विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेको प्राधिकरणले जनाएको छ।

तर नेपाल प्रहरीले भने बेपत्ता मानिसको सङ्ख्या ४ हजार ८७५ जना रहेको जनाएको छ। दुई सरकारी निकायले सार्वजनिक गरेको तथ्याङ्कमा बेपत्ताको सङ्ख्या फरक देखिएको छ।

बाढीपछि पहिचान हुन नसकेका शव तथा बेपत्ता व्यक्तिको पहिचान गर्न नेपाल प्रहरीले डीएनए नमुना सङ्कलन गरिरहेको छ।

प्रहरीका अनुसार हालसम्म १ हजार १४३ मृतकको र बेपत्ता व्यक्तिका ५९१ आफन्तको डीएनए नमुना सङ्कलन गरिएको छ।

बाढी तथा पहिरोले प्रभावित क्षेत्रमा खोजी कार्य अझै जारी रहेकाले मृतक र बेपत्ताको सङ्ख्या थप बढ्न सक्ने प्रहरीको भनाइ छ। प्रभावित क्षेत्रमा पुरिएका मानिस तथा शवको खोजी, उद्धार र पहिचानलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

 

Next Post

खाँडाचक्रले सुर्खेत, बाँके, कैलाली र बर्दियामा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्दै

१८ भाद्र २०८३, बिहीबार १३:२०
कालिकोट । खाँडाचक्र नगरपालिकाले नगरपालिकाभन्दा बाहिर विभिन्न जिल्लामा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाको वडा नं. १ देखि ११ सम्मका स्थायी बासिन्दा भए पनि रोजगारी तथा अन्य कामको सिलसिलामा सुर्खेत, बाँके, कैलाली र […]