तिला नदीको सेरिघाटमा अन्तिम विदाई
कालीकोट — कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–२ निवासी तथा नेपाली कांग्रेस शुभकालिका वडा नम्बर २ का सभापति मान बहादुर शाहीको मंगलबार तिला नदीस्थित सेरिघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।
बिगत लामो समयदेखि शुभकालिका गाउँपालिकाको गाडी चालकका रूपमा सेवा गर्दै आएका शाही स्थानीयहरूमाझ अत्यन्तै मायालु, सहयोगी र सरल स्वभावका व्यक्तित्वका रूपमा चिनिन्थे। क्यान्सर जस्तो घातक रोगसँग लामो समयसम्म जुझिरहे पनि अन्ततः उपचारको सबै प्रयास विफल हुँदै मंगलबार उहाँको निधन भएको हो।
उहाँको उपचारका लागि स्थानीय, राजनीतिककर्मी तथा समाजसेवीहरूले समेत सक्दो सहयोग जुटाएका थिए। तर पनि शारीरिक अवस्था गम्भीर बन्दै गएपछि उहाँलाई बचाउन सकिएन।
उहाँको अन्तिम संस्कार नेपाली कांग्रेस कालिकोटका जिल्ला उपसभापति नन्द बहादुर शाही घमनुले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्दै सम्पन्न गर्नुभएको थियो।
शाहीको असामयिक निधनले सिंगो गाउँ शोकमा डुबेको छ। उहाँको योगदान र सरल स्वभाव सदैव स्थानिय बासिन्दाहरूको सम्झनामा रहनेछ।








