सुर्खेत । जेन्जी दिवस तथा जेन्जी विद्रोहको स्मरणमा सुर्खेतको घण्टाघर परिसरमा ‘जेन्जी विद्रोह : के पायौँ, के गुमायौँ ?’ विषयक कार्यक्रम सम्पन्न भएको छ।
जेन्जी परिषद्, कर्णाली प्रदेशको आयोजनामा भएको कार्यक्रममा विद्रोहका क्रममा ज्यान गुमाउने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो। आन्दोलनका क्रममा दुवै आँखा गुमाएका सन्तोष बोहरासहित युवा, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमकै अवसरमा घण्टाघर नजिक रहेको गोलो घेरा भएको स्थानलाई ‘जेन्जी चोक’ घोषणा गरिएको छ। सरकार र जेन्जीबीच भएको सम्झौताका हस्ताक्षरकर्तासमेत रहेका जेन्जी परिषद्, कर्णाली प्रदेशका संयोजक प्रकाश खड्काले बोर्ड अनावरण गर्दै चोक घोषणा गरेका हुन्।
चोक घोषणा गर्दै संयोजक खड्काले जेन्जी विद्रोह युवाको असन्तुष्टिको मात्र अभिव्यक्ति नभई राज्यसँग जवाफदेहिता, सुशासन र परिवर्तनको माग गरिएको आन्दोलन भएको बताए।
“विद्रोहमा ठूलो क्षति भएको छ। धेरै युवाले आफ्नो जीवन र भविष्य जोखिममा राखेका छन्। अब आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शहीद तथा घाइतेको योगदानको सम्मान गर्नु र युवाका सवाललाई राज्यको नीति निर्माणसँग जोड्नु आवश्यक छ,” उनले भने।
कार्यक्रममा जेन्जी प्रतिनिधि टेक चन्द खड्का, नेकपाका वृद्ध नेता तुला सेरुवा, नेपाली कांग्रेसका तर्फबाट देवकुमार सुवेदी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट हरि कँडेल लगायतले विद्रोहको उपलब्धि, क्षति र आगामी दिशाबारे आ–आफ्नो धारणा राखेका थिए।
टेक चन्द खड्काले जेन्जी आन्दोलनले युवाको आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको भन्दै अब आन्दोलनबाट उठेका सवाललाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए। उनका अनुसार युवाको सहभागिता र नेतृत्वबिना देशमा अपेक्षित परिवर्तन सम्भव नहुने भएकाले राजनीतिक दल र राज्यले नयाँ पुस्ताको भावना बुझ्न आवश्यक छ।
नेकपाका वृद्ध नेता तुला तिरुवाले युवाको ऊर्जा र परिवर्तनको चाहनालाई सकारात्मक दिशामा प्रयोग गर्नुपर्ने धारणा राखे। उनले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै देशको समग्र राजनीतिक तथा सामाजिक रूपान्तरणमा युवालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने बताए।
नेपाली कांग्रेसका तर्फबाट सहभागी देवकुमार सुवेदीले युवाले उठाएका जायज सवाललाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले लोकतान्त्रिक अभ्यासमार्फत युवाको आवाजलाई राज्य सञ्चालनसँग जोड्दै अघि बढ्नुपर्ने धारणा राखे।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सहभागी हरि कँडेलले जेन्जी विद्रोहले पुरानो राजनीतिक सोच र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए। उनले युवाको अपेक्षा सम्बोधन गर्न सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्रोहका क्रममा भएको क्षति, प्राप्त उपलब्धि, वर्तमान अवस्था तथा आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालन प्रभुराम पाण्डेले गरेका थिए।
कार्यक्रमको अन्त्यमा शहीदहरूको स्मरण तथा सम्मानमा दीप प्रज्वलन गर्दै आगामी दिनमा युवाको आवाजलाई रचनात्मक र उपलब्धिमूलक ढंगले अघि बढाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।






