सुर्खेत । कर्णाली प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले सुर्खेतस्थित औद्योगिक ग्रामको अनुगमन गर्दै स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्योगको बजारीकरणलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी छन्।

औद्योगिक ग्रामको स्थलगत अनुगमनका क्रममा मन्त्री खड्काले सञ्चालनमा रहेका उद्योगको अवस्था, उत्पादन, बजार व्यवस्थापन, श्रमिकको अवस्था तथा उद्योगीले भोगिरहेका समस्याबारे जानकारी लिएकी थिइन्। उनले उद्योग सञ्चालनमा देखिएका समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

कर्णालीको स्थानीय स्रोत, सीप र श्रमलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम महत्वपूर्ण आधार बन्न सक्ने भन्दै मन्त्री खड्काले उत्पादनसँगै बजारीकरण र पूर्वाधार व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिएकी छन्।
प्रदेश सरकारको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतले सञ्चालन गरेको औद्योगिक ग्राममा हाल २६ वटा उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगमा १२२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। घरेलु कपडा, अल्लोका कपडा तथा धागो बुनाइलगायतका उद्योग यहाँ सञ्चालनमा छन्।
औद्योगिक ग्राममा उत्पादित अल्लोका कपडा तथा अन्य स्थानीय सामग्री सुर्खेतसहित विभिन्न बजारमा बिक्री हुने गरेका छन् भने केही उत्पादन विदेशसमेत पुग्ने गरेका छन्। कालिका अल्लो तथा धागो बुनाई प्रशिक्षण केन्द्रकी पुष्पा खड्काका अनुसार स्थानीय सीप र कच्चा पदार्थमा आधारित उत्पादनले विस्तारै बजार पाउँदै गएको छ।
उनका अनुसार अल्लोका कपडासँगै अन्य कपडा, स्थानीय उत्पादन तथा जैविक खाद्यान्नको बिक्री–वितरणसमेत औद्योगिक ग्रामबाट हुँदै आएको छ। स्थानीय स्रोतसाधन र सीपलाई उत्पादनसँग जोड्दा रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा समेत सहयोग पुगेको उनको भनाइ छ।
सुर्खेतमा ३ हजार ६६२ उद्योगको अभिलेख
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ योगीका अनुसार जिल्लामा हालसम्म ९०७ उद्योग दर्ता भएका छन्। १ हजार ४५२ उद्योग नवीकरण र ३०३ उद्योग खारेज भएका छन्। दर्ता, नवीकरण तथा खारेजीसम्बन्धी अभिलेख जोड्दा सुर्खेतमा उद्योगसम्बन्धी कुल अभिलेख संख्या ३ हजार ६६२ पुगेको छ।
प्रदेश सरकारले उद्योग प्रवर्द्धन, सीप विकास, उपभोक्ता हित तथा संरक्षण, लघु औद्योगिक ग्राम र कोसेली घर प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ। स्थानीय कच्चा पदार्थ, श्रम, सीप र प्रविधिको अधिकतम प्रयोगमार्फत उत्पादन बढाउने तथा त्यसको बजारीकरण गर्ने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गरिएको हो।
स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने तयारी
कर्णालीको मौलिकता र स्थानीय पहिचान झल्काउने उत्पादनको प्रवर्द्धन गर्दै उद्योगलाई पर्यटनसँग जोडेर औद्योगिक पर्यटनको विकास गर्ने लक्ष्यसमेत प्रदेश सरकारले अघि सारेको छ।
रैथाने तथा परम्परागत उत्पादनको संरक्षण, साना तथा मझौला उद्योगको प्रवर्द्धन, स्थानीय कच्चा पदार्थको सदुपयोग र उत्पादनको बजारीकरणमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रदेश सरकारको नीति छ।
सुरक्षा व्यवस्थापन चुनौती
उद्योग सञ्चालन र उत्पादन बढ्दै गए पनि औद्योगिक ग्राममा सुरक्षा व्यवस्थापन भने अझै चुनौतीका रूपमा रहेको कार्यालयले जनाएको छ। उद्योगमा काम गर्ने श्रमिक, उत्पादन सामग्री तथा भौतिक पूर्वाधारको सुरक्षा थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको कार्यालयको भनाइ छ।
औद्योगिक ग्राममा उद्योग थप विस्तार गर्दै उत्पादन र रोजगारी बढाउनेसँगै सुरक्षा, पूर्वाधार, बजार तथा व्यवस्थापनका पक्षलाई समेत सुदृढ बनाउनुपर्ने देखिएको छ।






