कालिकोट । जिल्लामा केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले ग्यासको सहज आपूर्ति तथा वितरण व्यवस्थापनका लागि व्यवसायी र उपभोक्तालाई विभिन्न निर्देशन दिएको छ।
प्रशासनले २०८३ साउन १९ गते सूचना जारी गर्दै ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अवैध रूपमा भण्डारण गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री–वितरण गर्ने कार्य नगर्न ग्यास व्यवसायीलाई चेतावनी दिएको हो।
कालिकोटका लागि ल्याइएको ग्यास अन्य जिल्लामा बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। ग्यास बिक्री गर्दा दैनिक अभिलेख राख्न र त्यसको निगरानी गर्नसमेत व्यवसायी, यातायात व्यवसायी तथा सुरक्षा निकायलाई आग्रह गरिएको छ।
प्रशासनले ग्यास व्यवसायीलाई उपभोक्ताको पालोका आधारमा मात्र सिलिन्डर बिक्री–वितरण गर्न निर्देशन दिएको छ। खाली सिलिन्डर ल्याउने उपभोक्ताको नाम, सम्पर्क नम्बरलगायत विवरण अभिलेखमा राखी पारदर्शी रूपमा ग्यास वितरण गर्न भनिएको छ।
यस्तै, व्यवसायीले सिलिन्डरको बिक्री तथा वितरणको दैनिक विवरण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा नियमित रूपमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
प्रशासनले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर खरिद गरी भण्डारण नगर्न आग्रह गरेको छ। बढी मात्रामा सिलिन्डर संकलन गरेका व्यक्तिलाई अभाव भएका अन्य उपभोक्तालाई आवश्यक परिमाणमा उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ।
कसैले ग्यास लुकाएको, कृत्रिम अभाव सिर्जना गरेको, आवश्यकताभन्दा बढी भण्डारण गरेको वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको जानकारी पाए तत्काल जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सूचना दिन प्रशासनले आग्रह गरेको छ।
पहुँच वा चिनजानका आधारमा ग्यास वितरण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले ग्यास लुकाउने तथा अन्य कानुनविपरीत कार्य गरेको पाइएमा कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। त्यस्ता कार्यमा प्रयोग भएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी प्रशासनले दिएको छ।







