जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा विगत तीन महिनादेखि अत्यावश्यक औषधीको अभाव भएपछि बिरामीहरू गम्भीर समस्यामा परेका छन्। अस्पतालको व्यवस्थापन पक्ष र सम्बन्धित निकायको ढिलासुस्तीका कारण उपचारका लागि आएका सेवाग्राहीले अपेक्षित सेवा पाउन नसकेको गुनासो बढ्दै गएको छ।
१५ शय्याबाट स्तरोन्नति भई ५० शय्यामा विस्तार गरिएको अस्पतालमा सामान्यदेखि जटिल प्रकृतिका बिरामीले समेत आवश्यक औषधी नपाउँदा निराश भएर फर्किनुपर्ने अवस्था रहेको छ। औषधी अभावकै कारण धेरै बिरामी उपचारका लागि नेपालगञ्ज र सुर्खेतजस्ता सुविधा सम्पन्न सहरतर्फ जान बाध्य भएका छन्।
भेरी नगरपालिका–१३ की शान्ता शर्माले अस्पतालमा उपचारका लागि पुगे पनि औषधी नपाएर खाली हात फर्किनु परेको बताइन्। उनले अस्पताल व्यवस्थापन र सरोकारवाला निकायको लापरबाहीका कारण सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा परेको गुनासो गरिन्।
यस्तै, भेरी नगरपालिका–४ की रिता शाहले अस्पताल स्तरोन्नति भए पनि सेवा प्रभावकारी नभएको बताउँदै औषधी अभावका कारण बिरामी जिल्ला बाहिर जान बाध्य भएको उल्लेख गरिन्।
अस्पतालमा श्वासप्रश्वास, मुटु लगायतका रोगसम्बन्धी औषधीको अभाव देखिएको छ। सेरोफ्लो २५० एमसिजी, ट्याइभा १८० एमसिजी, ब्रुफेन, कोडोपार, रोजुभास्टाटिन १० मिलिग्राम र पारासिटामोल इन्जेक्सनजस्ता अत्यावश्यक औषधीहरू हाल उपलब्ध छैनन्।
सात वटा स्थानीय तहलाई सेवा दिँदै आएको जिल्लाकै एकमात्र ५० शय्याको यस अस्पतालमा विशेषगरी गरिब, दलित तथा आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरू बढी प्रभावित भएका छन्। सरकारले निःशुल्क उपलब्ध गराउने औषधीसमेत बिरामीले निजी पसलबाट किन्नुपर्ने बाध्यता सिर्जना भएको छ।
स्थानीयवासीले अस्पताल प्रशासन, व्यवस्थापन समिति तथा सम्बन्धित निकायले समयमै औषधी आपूर्ति गर्न नसक्दा नागरिकले अनावश्यक दुःख पाएको बताएका छन्। उनीहरूले समस्या समाधानका लागि तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन्।







