हुम्ला । हुम्लामा भएको दुःखद सवारी दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन्। सिमकोट गाउँपालिका–६ का २५ वर्षीय नरेन्द्र सुनार ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भई उपचारकै क्रममा निधन भएको हो।
शुक्रबार बेलुका लाग्ना क्षेत्रबाट सिमकोटतर्फ जाँदै गरेको ग १ त ७०६७ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई करिब १५० मिटर तल खसेको थियो। दुर्घटनापछि चालक सुनारलाई तत्कालै प्रहरीले उद्धार गरी जिल्ला अस्पताल पुर्याएको थियो।
अस्पतालमा प्रारम्भिक उपचार गरिए पनि आवश्यक सेवा त्यहाँ उपलब्ध नभएकाले उनलाई थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको थियो। तर, त्यही क्रममा उनको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।







