अपडेट

जुम्लामा स्याउ संकलन खुला, किसान र व्यापारी उत्साहित

  ।   ३ भाद्र २०८२, मंगलवार १५:४०

जुम्ला। जुम्लामा लामो प्रतिक्षा पछि स्याउ संकलन र निर्यातमा लगाइएको प्रतिबन्ध हटाइएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले भदौ २ गतेदेखि आधिकारिक रूपमा स्याउ संकलन खुला गर्ने निर्णय गरेको हो। यसअघि साउन २ गते बसेको बैठकले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्ने निर्णय गरेको थियो। उक्त निर्णयको आधारमा कृषि विकास कार्यालयले कडाइका साथ संकलनमा रोक लगाउँदै आएको थियो। यही क्रममा साउन २७ गते पातारासी गाउँपालिकाबाट संकलित तीन क्विन्टल काँचो स्याउ समेत जफत गरिएको थियो।

निर्णय उल्ट्याउने कारणबारे जानकारी दिँदै कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले भने, “तातोपानी र तिला क्षेत्रका स्याउ परिपक्व भइसकेका छन्। स्वाद र गुलियोपना आएको हुँदा किसानको मागलाई मध्यनजर गर्दै संकलन खुला गरिएको हो।” यद्यपि निर्णयमा तल्लो भेगका लागि मात्र संकलन खुला गर्ने भनिए पनि चन्दननाथ, पातारासी, गुठिचौर लगायत अन्य पालिकाबाट पनि स्याउ संकलन र निर्यात सुरु हुने निश्चितप्रायः देखिएको छ।

साउन २७ मा जफत गरिएको स्याउलाई पनि फुकुवा गर्ने निर्णय गरिएको छ। यससँगै किसान र व्यापारी दुवैलाई सहजता हुने अपेक्षा गरिएको छ।
कृषि विकास कार्यालयले कृषकलाई सहयोग पुर्‍याउनका लागि ‘जुम्ला एप्पल’ लेखिएका कार्टुन अनुदानमा उपलब्ध गराउँदै आएको छ। यस वर्ष पनि ६ लाख बजेट विनियोजन गरी खरिद प्रक्रिया अघि बढाइएको छ। तर गत वर्ष समयमा कार्टुन खरिद नभएकाले १० लाख बजेट फ्रिज भएको थियो। व्यापारी कालो कामीका अनुसार संकलन खुला भए पनि लगातारको वर्षाले कर्णाली राजमार्ग क्षतिग्रस्त भएको कारण ढुवानीमा ठूलो समस्या आउन सक्ने छ। उनले भने, “राज्यले यातायातमा सहुलियत नदिए किसान र व्यापारी दुवै पुनः मारमा पर्न सक्छन्।”

स्याउ उत्पादनका लागि प्रसिद्ध जुम्लामा संकलन खुला भएपछि किसान र व्यापारी उत्साहित भएका छन्। तर ढुवानी, बजार मूल्य र राज्यको सहयोग जस्ता चुनौती समाधान नगरेसम्म किसानको श्रम प्रतिफलप्रति फेरि अनिश्चितता रहने देखिएको छ।

Next Post

पत्रकारिता पुरस्कारमा दलिय भागबन्डा गरिएको आरोप: समाजवादी प्रेस संगठनको घोर आपत्ति

३ भाद्र २०८२, मंगलवार १५:४०
सुर्खेत । समाजवादी प्रेस संगठन, कर्णाली प्रदेश समितिले यस वर्ष कर्णाली प्रदेश सरकारले वितरण गरेको पत्रकारिता पुरस्कारप्रति तीव्र आपत्ति जनाएको छ। कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा विभिन्न विधामा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको सरकार यसपटक भने निष्पक्षता तोडिएको भन्दै संगठनले आलोचना गरेको हो। संगठनले जारी गरेको विज्ञप्तिमा केन्द्रीय […]