रतन रावल ,
मुगु । छायाँनाथ रारा नगरपालिका–३, तुमामा रहेको रेडपाण्डा एकीकृत कृषि फर्मले सुरु गरेको टिमुर खेती पछिल्ला वर्षहरूमा उल्लेखनीय सफलतासहित फस्टाउँदै गएको छ। हिमाली भू–बनोट र चिसो मौसमलाई उपयुक्त मान्दै फर्मले करिब ६ वर्षअघि टिमुर खेती सुरु गरेको थियो। गाउँकै कृषक सन्चुरा मल्लले नेतृत्व गर्दै आएको यो योजना अहिले स्थानीय रोजगारी, आयआर्जन र कृषि विविधीकरणको सफल नमुनाका रूपमा उदाउँदैछ।
सन्चुरा मल्लका अनुसार सुरुका वर्षहरू निकै चुनौतीपूर्ण रहे। पहिलो वर्ष टिमुरका नाजुक बिरुवाहरू जोगाउन कठिनाइ परेको थियो। तीन वर्षसम्म निरन्तर हेरचाह, मल–पानी र संरक्षणमा मेहनत गरेपछि चौथो वर्षदेखि बिरुवामा फल देखिन थालेको मल्ल बताउँछन्। प्रारम्भमा १०० वटा बिरुवा रोपिए पनि हिमाली भौगोलिक विकटता, माटोको फरकपन र कठोर मौसमका कारण आधाभन्दा बढी बिरुवा सुक्दै गए। अहिले भने ४८ वटा स्वस्थ बोटबाट राम्रो उत्पादन लिन सफल भएको उनी बताउँछन्।
टिमुर खेतीमा गाईगोठको स्थानीय मल अत्यन्त प्रभावकारी देखिएको मल्लको अनुभव छ। यस वर्ष मात्रै करिब १ क्विन्टल उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। बजार मूल्य पनि आकर्षक छ — स्थानीय बजारमा प्रतिकिलो १,२०० देखि १,५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको र यस वर्ष पहिलो पटक काठमाडौँ पुर्याउने तयारी भइरहेको मल्लले बताए।
मुगु जिल्लामा टिमुर खेती प्रायः सोरु गाउँपालिकामा प्रचलित भए पनि छायाँनाथ रारा क्षेत्रबाट भएको यो नयाँ प्रयासले किसानलाई प्रेरित बनाएको छ। “सोचेभन्दा राम्रो फल आएपछि यो खेतीमा अझ उत्साह बढेको छ,” मल्ल भन्छन्। टिमुरका स्वास्थ्य फाइदाहरू, मसला तथा औषधीय प्रयोग, र स्थानीय तथा बाहिरी बजारमा बढ्दो मागका कारण यस क्षेत्रको कृषि सम्भावना अझै उजागर हुँदै गएको छ।
रेडपाण्डा एकीकृत कृषि फर्मले अब आगामी वर्षमा टिमुर खेतीको क्षेत्र विस्तार गर्ने, थप किसानलाई प्रशिक्षण दिने र सामूहिक उत्पादन तथा बजार व्यवस्थापन प्रणाली विकास गर्ने योजना बनाएको छ। गाउँमा पहिलोपटक गरिएको व्यावसायिक टिमुर खेतीले मुगुमा कृषि नवप्रवर्तनको सम्भावना फराकिलो बनाएको स्थानीयवासीहरूको भनाइ छ।
टिमुर खेतीले मुगुका किसानलाई आर्थिक सबलता मात्र होइन, पहिचान र भविष्यप्रतिको आशा पनि जगाइरहेको छ।







