रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० मा आइतबार दिउँसो ट्याक्टर दुर्घटना भएको छ।
स्थानीयका अनुसार पुरानोठाँटीबाट गाराघाटतर्फ जाँदै गरेको २८०५ नम्बरको ट्याक्टर अचानक सडकमा चिप्लिँदा दुर्घटना भएको हो। ट्याक्टरमा गहुँ कुट्ने थ्रेसर मेसिन लोड गरिएको थियो।
दुर्घटनामा ट्याक्टरमा सवार व्यक्तिहरू सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। तर ट्याक्टर र बोकेको उपकरणमा भने आंशिक क्षति पुगेको अनुमान गरिएको छ।
स्थानीयले सडकको अवस्था कमजोर तथा उकालो–ओरालो र चिप्लो भएका कारण यस्तो दुर्घटना हुने गरेको बताएका छन्। वर्षायाम नजिकिँदै जाँदा यस्ता सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सम्बन्धित निकाय र चालकलाई आग्रह गरिएको छ।







