काठमाडौँ । अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विपदमा परेर देश भरि हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु भएको जानकारी दिए।
‘बाढी पहिरोमा ८६ जना घाइते र पाँच जना बेपत्ता छन्,’ उनले भने। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस अवधिमा बाढी पहिराका नौ सय ६६ घटना घटेका छन्। त्यसबाट ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपाया पनि मरेका छन्। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ।
बाढी पहिरो पीडित नागरिकको उद्धारमा चार हजार सात सय ९० प्रहरी परिचालन गरिएको छ।
बाढी पहिरोबाट नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस