अपडेट

दैलेखमा बाबुद्वारा छोराको हत्या, पारिवारिक विवादले लियो ज्यान

  ।   २० जेष्ठ २०८३, बुधबार ०९:४०

दैलेख । दैलेखमा पारिवारिक विवादका क्रममा एक वृद्ध बाबुले आफ्नै छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ।
जिल्लाको नारायण नगरपालिका–९ सालखर्क निवासी ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापामाथि धारिलो हतियार हँसियाले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार गए राति भएको पारिवारिक विवाद उग्र बनेपछि कविराजले छोरा यादवको घाँटी, पाखुरा तथा शरीरका विभिन्न भागमा हँसिया प्रहार गरेका थिए। गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि दैलेख अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनापछि प्रहरीले आरोपित कविराज थापालाई सोही राति नियन्त्रणमा लिएको छ। घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक रोकायले जानकारी दिनुभयो।

मृतक यादव थापा नेपाली सेनाका सेवानिवृत्त सैनिक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने बाबु–छोराबीचको विवादले दुःखद अन्त्य लिएको भन्दै स्थानीयवासीले गहिरो चिन्ता व्यक्त गरेका छन्।

प्रहरीले घटनासम्बन्धी थप तथ्य सङ्कलन तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

Next Post

बिरेन्द्रनगर प्रथम मेयर कप–२०८३ को च्याम्पियन

२० जेष्ठ २०८३, बुधबार ०९:४०
सुर्खेत। कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप–२०८३ को उपाधि बिरेन्द्रनगर नगरपालिकाले जितेको छ। सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सम्पन्न फाइनल खेलमा बिरेन्द्रनगरले जुम्लालाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि आफ्नो नाममा गरेको हो। सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलमा ५ मिनेटमा पहिलो गोल गर्न सफल भएको बिरेन्द्रनगर सफल भएको हो । […]