सुर्खेत । कर्णाली प्रदेशका युवा वातावरण अभियन्ता किशोर न्यौपाने ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ को टप २० मा छनोट भएका छन्। देशभरबाट प्राप्त ७९१ आवेदनमध्ये १७ वर्षीय किशोर उत्कृष्ट २० मा पर्न सफल भएका हुन्।
किशोरले विगत केही वर्षदेखि कर्णालीमा जलवायु परिवर्तन तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएका छन्। उनको नेतृत्वमा हालसम्म ३ हजार २३० भन्दा बढी वृक्षरोपण गरिएको छ भने ५८ वटा विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीलाई वातावरण संरक्षणसम्बन्धी सचेतना प्रदान गरिएको छ।
वातावरण संरक्षणलाई युवामाझ प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले किशोरकै नेतृत्वमा कर्णाली प्रदेशमै पहिलोपटक ‘ट्र्यास कलेक्सन रेस’ समेत आयोजना गरिएको थियो। फोहोर व्यवस्थापनलाई जनसहभागिता र युवाको सक्रियतासँग जोडेर सञ्चालन गरिएको उक्त अभियानले वातावरण संरक्षणमा नयाँ पुस्ताको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
किशोरले स्थानीय तह, वन कार्यालय तथा जलाधार संरक्षणसँग सम्बन्धित निकायसँग सहकार्य गर्दै वातावरणीय अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै आएका छन्। उनले सुर्खेतस्थित बुलबुले तालको संरक्षण तथा पुनर्स्थापनाका लागि कर्णाली प्रदेशका मुख्यमन्त्रीसमक्ष प्रत्यक्ष पहलसमेत गरेका छन्।
आफ्नो प्रारम्भिक वातावरणीय अभियानमा व्यक्तिगत स्रोतसमेत परिचालन गर्दै अघि बढेका किशोर निरन्तरको सक्रियताका कारण अहिले राष्ट्रियस्तरको युवा पहिचानको मञ्चमा पुग्न सफल भएका हुन्।
ग्लोकल टिन हिरो नेपालले किशोर–किशोरीले समाजमा पुर्याएको प्रभाव, नेतृत्व, सिर्जनशीलता, नवप्रवर्तन तथा सामाजिक योगदानका आधारमा प्रतिभाको पहिचान गर्दै आएको छ। टप २० मा किशोरको छनोटले कर्णालीमा वातावरण संरक्षणका क्षेत्रमा युवाले गरिरहेको प्रयासलाई राष्ट्रियस्तरमा चिनाउने अवसरसमेत सिर्जना गरेको छ।
किशोरको यो उपलब्धिलाई व्यक्तिगत सफलतासँगै कर्णाली प्रदेशका युवाको क्षमता, सक्रियता र वातावरण संरक्षणप्रतिको प्रतिबद्धताको राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ।







