सुर्खेत । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै बस्तीमै पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११, झुप्राखोलामा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्थानीय नागरिकको स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श प्रदान गरिएको हो।

योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजना तथा नेपाल औषधि व्यवसायी संघ, कर्णाली प्रदेशको सहकार्यमा सम्पन्न एकदिवसीय शिविरमा झुप्राखोलाका स्थानिय सेवाग्राहीले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाही तथा छाला रोग विशेषज्ञ डा . जीविता शाहीले बस्तीमै पुगेर स्थानीय नागरिकको स्वास्थ्य परीक्षण, रोगसम्बन्धी परामर्श तथा आवश्यक स्वास्थ्य सुझाव दिएका थिए। विशेषज्ञ चिकित्सकलाई आफ्नै बस्तीमा भेटेर स्वास्थ्य जाँच गराउन पाउँदा स्थानीय नागरिकसमेत उत्साहित देखिएका थिए। स्वास्थ्य परीक्षण गरीएका विरामीलाई निशुल्क औषधि समेत वितरण गरियको छ ।
कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष धर्मराज शाहीले सामाजिक सेवा केवल औपचारिक कार्यक्रम वा भाषणमा सीमित नभई आवश्यकतामा रहेका नागरिकको घरदैलो र बस्तीमै पुग्नुपर्ने बताउनुभयो।
“स्वास्थ्य सेवाको आवश्यकता सबैलाई हुन्छ, तर सबै नागरिक सहज रूपमा विशेषज्ञ चिकित्सकसम्म पुग्न सक्ने अवस्था हुँदैन। त्यसैले विशेषज्ञ चिकित्सकसहित बस्तीमै पुगेर सेवा दिन सक्नु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। सामाजिक सेवाको सुरुवात यही बस्तीबाट गर्न पाउँदा मलाई अत्यन्तै गर्व महसुस भएको छ,” अध्यक्ष शाहीले भन्नुभयो।
उहाँले यो कार्यक्रमलाई एकदिवसीय अभियानमा मात्र सीमित नराखी आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य सेवा, सरसफाइ, वातावरण संरक्षण तथा अन्य सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष शाहीका अनुसार स्वास्थ्यसँगै स्वच्छ वातावरण पनि स्वस्थ जीवनका लागि अपरिहार्य भएकाले प्रतिष्ठान तथा सहकार्यमा आबद्ध समूहले सरसफाइ अभियानलाई समेत प्राथमिकतामा राखेको छ। यसअघि वीरेन्द्रनगरका वडा नम्बर ७ र ८ मा सञ्चालन गरिएको सरसफाइ अभियानका क्रममा प्लास्टिकजन्य फोहोर मात्रै करिब ४० देखि ४२ बोरा संकलन गरिएको उहाँले जानकारी दिनुभयो।
“स्वस्थ नागरिकका लागि स्वच्छ वातावरण अनिवार्य छ। त्यसैले स्वास्थ्य शिविरसँगै सरसफाइ र वातावरण संरक्षणका अभियानलाई पनि निरन्तर अगाडि बढाउनेछौँ। जहाँ आवश्यकता छ, त्यहाँ पुगेर सेवा गर्ने हाम्रो प्रयास जारी रहनेछ,” अध्यक्ष शाहीले बताउनुभयो।
शिविरमा सहभागी स्थानीयवासीले आफ्नै बस्तीमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाउँदा निकै खुसी लागेको बताएका छन्। उनीहरूले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढा जानुपर्ने अवस्थाका नागरिकलाई यस्ता शिविरले ठूलो राहत दिएको भन्दै आगामी दिनमा पनि बस्तीमै पुगेर विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न आयोजकसँग आग्रह गरेका छन्।
स्थानीय नागरिकले स्वास्थ्य शिविर आयोजना गरेर समुदायको स्वास्थ्यप्रति चासो देखाएकोमा आयोजक संस्था, सहकार्य गर्ने संस्था तथा विशेषज्ञ चिकित्सकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले स्वास्थ्यसँगै सरसफाइ, वातावरण संरक्षण र सामाजिक सचेतनाका कार्यक्रमलाई निरन्तरता दिन सकेमा बस्तीको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सभा अध्यक्ष तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष धर्मराज शाही, प्रमुख अतिथि समाजसेवी हरि बहादुर बादी, विशेष अतिथिहरू, क्याम्पस प्रमुख दानबहादुर रोकाय, प्रशासन प्रमुख अशोक कुमार थापा, बराताल गाँउपालिका कार्यरत सिनियर अहेब नारायण प्रसाद भट्रराई लगायत विद्यार्थी तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
बस्तीमै पुगेर विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने यो अभियानले ‘सेवा लिन नागरिक संस्थासम्म होइन, आवश्यक पर्दा संस्था नागरिकको बस्तीमै पुग्नुपर्छ’ भन्ने सन्देश दिएको छ। स्वास्थ्य, सरसफाइ र सामाजिक सेवाका अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउने अध्यक्ष शाहीको प्रतिबद्धताले यस अभियानलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
यस कार्यक्रमको संचालन प्रतिष्ठाकी संयोजक गौरा कुमारी घर्ति मगरले गरेकी थिन ।







