हुम्ला । लगातारको वर्षापछि आएको पहिरोले हुम्लाको ताँजाकोट–३, छप्रेलास्थित श्री धर्मोदय माध्यमिक विद्यालयमा निर्माणाधीन भवनमा ठूलो क्षति पुर्याएको छ। शुक्रबार बेलुकी विद्यालयको पछाडिपट्टि खसेको पहिरोले करिब २० लाख रुपैयाँ बराबरको नोक्सानी भएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसीका अनुसार, भवन पछाडिको भागमा मेसिनरी वाल निर्माण नभएकै कारण पटक–पटक यस्तो समस्या देखिँदै आएको छ। “यो पटक अझ ठूलो क्षति भयो, अझै ठूलो वर्षा परे भवन पूरै जोखिममा पर्न सक्ने सम्भावना छ,” उनले चिन्ता व्यक्त गरे।
प्रधानाध्यापक जैसीले विद्यालय क्षेत्रलाई सुरक्षित बनाउन पटक–पटक पहल गरिए पनि कतैबाट पनि सहयोग प्राप्त नभएको दुखेसो पोखे।
“विद्यालयलाई विकास गर्नेभन्दा पनि नेताहरूले यसलाई राजनीति गर्ने थलो मात्रै बनाए,” उनले गुनासो गर्दै थपे, “तर, यसको संरक्षणमा कुनै चासो देखाइएन।” भवन प्रदेश संसद् कोष सामाजिक विकास कार्यालयले विनियोजन गरेको ९० लाख रुपैयाँको बजेटमा गत मङ्सिरदेखि आरसीसी संरचना निर्माण भइरहेको थियो। भवन सुरु भइसकेपछि नै पछाडिको भागमा मेसिनरी तथा ग्याबिन वाल निर्माणका लागि रकम माग गरिएको तर कुनै सकारात्मक जवाफ नआएको प्रधानाध्यापक जैसीले बताए।
विद्यालयका शिक्षक डबलबहादुर महताराका अनुसार, भवन मात्र होइन, विद्यालयमा खेलमैदान, खानेपानी, शौचालय र घेरबारजस्ता आधारभूत सुविधा पनि अभाव छ। धर्मोदय माध्यमिक विद्यालयमा साधारणतर्फ कक्षा १२ सम्म र प्राविधिक धारतर्फ पशु विज्ञान (एलपीएएच) को १८ महिने कार्यक्रम सञ्चालन हुँदै आएको छ। झण्डै ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालय हुम्ला जिल्लामा विद्यार्थी सङ्ख्या अनुसार दोस्रो वा तेस्रो स्थानमा पर्ने ठूलो शैक्षिक संस्था हो।
स्थानीय शिक्षक र अभिभावकहरूले विद्यालयलाई सुरक्षित बनाउन तत्काल पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूको भनाइमा, शिक्षा लिन आउने विद्यार्थीहरू दैनिक जोखिमको छायाँमा बस्न बाध्य छन्, जुन हरेक वर्ष दोहोरिन थालेपछि चिन्ता अझ गहिरिँदो छ।