जाजरकोट पहिरोमा परी दुईको मृत्यु, दुई बेपत्ता, सयौँ विस्थापित

  ।   ३१ श्रावण २०८३, आईतवार ११:५७

जाजरकोट । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ र आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। ६ जना घाइते भएका छन्। पहिरोको जोखिम बढेपछि करिब ६० देखि ७० घरपरिवारका दुई सयभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

साउन ३० गते दिउँसोदेखि निरन्तर परेको वर्षापछि भेरी नगरपालिका–२ का विभिन्न स्थानमा पहिरो खस्दा घर, टहरा तथा स्थानीय संरचनामा क्षति पुगेको हो। पहिरोका कारण बस्ती नै जोखिममा परेपछि स्थानीयवासी रातारात सुरक्षित स्थानतर्फ सारिन बाध्य भएका छन्।

पहिरोमा परी गम्भीर घाइते भएका भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा शनिबार बिहान ४ः५० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। यसअघि सोही वडाका ५४ वर्षीय उमासिंह खत्री आफ्नै घरले पुरिएको अवस्थामा मृत फेला परेका थिए।

घाइतेमध्ये ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी र ५७ वर्षीया भद्राकली कार्कीलाई८८ जाजरकोट जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर पठाइएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने तीन जना उपचारपछि घर फर्किसकेका छन्।

यसैबीच पहिरोबाट जोगिन भाग्ने क्रममा ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरू पहिरोबाट जोगिन सुरक्षित स्थानतर्फ गएको अनुमान गरिए पनि हालसम्म सम्पर्कमा नआएपछि खोजी तथा उद्धारलाई तीव्र पारिएको छ।

सम्पर्कविहीन दुवै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। तर पहिरोका कारण सडक तथा स्थानीय बाटो अवरुद्ध हुँदा उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ। सुरक्षाकर्मीहरू कतिपय स्थानमा पैदलमार्ग प्रयोग गरेर घटनास्थल पुगेका छन्।

पहिरोले घर भत्काउने र थप बस्ती जोखिममा पार्ने अवस्था देखिएपछि ८८रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका दुई सयभन्दा बढी नागरिकलाई त्रिभुवन आधारभूत विद्यालय तथा नजिकका सुरक्षित डाँडामा स्थानान्तरण गरिएको८८ छ। विस्थापित परिवारलाई तत्काल बसोबास, खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्रीको आवश्यकता देखिएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार वर्षा अझै नरोकिए पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था छ। पहिरोले केही स्थानमा जमिन चिरिएको तथा बाटो अवरुद्ध भएकाले बस्तीका अन्य घरसमेत जोखिममा परेका छन्। उद्धारसँगै जोखिमयुक्त बस्तीको थप पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ।

घटनापछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहले उद्धार, खोजी र विस्थापितको व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्। यद्यपि लगातारको वर्षा, अवरुद्ध सडक र भौगोलिक विकटताका कारण राहत तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

बेपत्ताको खोजी, जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरण र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउने काम अहिले मुख्य प्राथमिकतामा परेको छ।

Next Post

जाजरकोट पहिरो अपडेट ४ जनाको मृत्यु, ६ घाइते, २ सय जना सुरक्षित स्थानमा

३१ श्रावण २०८३, आईतवार ११:५७
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। पहिरोको उच्च जोखिममा रहेका करिब ७० घरपरिवारका २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट प्राप्त २०८३ साउन ३१ गते […]

सम्बन्धित शीर्षक