जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। पहिरोको उच्च जोखिममा रहेका करिब ७० घरपरिवारका २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट प्राप्त २०८३ साउन ३१ गते दिउँसो २ बजेसम्मको विवरणअनुसार, शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षापछि पहिरो जाँदा घर तथा टहरा क्षतिग्रस्त भएका छन्।
पहिरोमा परी मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, सोही ठाउँकी करिब ८७ वर्षीया रती खत्री, उनका ५४ वर्षीय छोरा उमासिंह खत्री र भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्की रहेका छन्। केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
छ जना घाइते
पहिरोमा परी छ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य घाइतेको जिल्ला अस्पताल जाजरकोट तथा थप उपचारका लागि कोहलपुरमा उपचार भइरहेको छ।
रिसाङका ६० वर्षीय रामबहादुर शाही आरनमा काम गरिरहेको अवस्थामा पहिरो खस्दा छाती, टाउको र हातमा चोट लागेर गम्भीर घाइते भएका छन्। आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामी र चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि घाइते भएका छन्। त्यस्तै भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक घाइते भएका छन्।
२ सय जना सुरक्षित स्थानमा
पहिरोको जोखिममा रहेका करिब ७० घरपरिवारका २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उनीहरूलाई स्थानीय त्रिभुवन आधारभूत विद्यालयमा राखिएको छ भने प्रभावितहरूको स्वास्थ्य परीक्षणसमेत भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सुरक्षित स्थानमा स्थानान्तरण गरिएकामध्ये झ्यालिखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन्।
प्रभावितको उद्धार तथा सुरक्षाका लागि प्रहरी नायब निरीक्षक प्रेमबहादुर फौजाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीसमेत खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणमा खटिएको छ।
प्रदेश सरकारबाट राहत
पहिरो प्रभावित परिवारका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार त्रिपाल १५० थान, ब्ल्याङ्केट १८५ थान, चिउरा ५० केजी, चामल चार क्विन्टल, टेन्ट २० सेट, कालो प्लास्टिक दुई रोल र पिफम दुई रोल पठाइएको प्रदेश सचिव लक्ष्मी विकले जानकारी दिएका छन्।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत सामग्री पठाइएको र आवश्यकता पहिचान गरी राहत वितरणलाई निरन्तरता दिइने बताएका छन्। उनले पहिरोमा आफन्त गुमाएका तथा घाइते भएकाहरूलाई प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ। उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रदेश सरकारबीच समन्वय भइरहेको छ।
हालसम्मको अवस्था : मृत्यु ४ जना, घाइते ६ जना, उपचारपछि डिस्चार्ज ३ जना र सुरक्षित स्थानमा स्थानान्तरण २ सय जना करिब ७० घरपरिवार पहिरोबाट प्रभावित तथा जोखिममा रहेका छन्।






