सुर्खेत । प्राविधिक शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक सीप, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले सुर्खेतमा चारदिने विशेष प्राविधिक तालिम सुरु भएको छ।
एफएबी फाउन्डेसन नेपालको आयोजना तथा सामाजिक विकास मन्त्रालय र योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको सहकार्यमा भदौ १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने ‘डिजाइन टु बिल्ड स् सहभागितामूलक डिजाइन र वास्तविक प्रभाव’ विषयक ३४ घण्टे तालिममा जनरल हेल्थ असिस्टेन्ट (एचए), फार्मेसी तथा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको छ।
तालिमको उद्घाटन कार्यक्रममा योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष धर्मराज शाहीको अध्यक्षता तथा सामाजिक विकास कार्यालय, स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रतिष्ठानका कार्यक्रम प्रमुख दानबहादुर रोकाय, एफएबी फाउन्डेसन नेपालका प्रशिक्षक, विभिन्न विषयका प्रशिक्षक, प्रशासनिक प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
तालिममा सहभागी विद्यार्थीलाई समाजमा रहेका वास्तविक समस्या पहिचान गरी स्थानीय स्रोत–साधन र प्रविधिको प्रयोगबाट सरल, सस्तो तथा व्यावहारिक समाधान खोज्ने विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। विशेषगरी स्वास्थ्यसम्बन्धी समस्या भएका, अपाङ्गता भएका तथा दैनिक जीवनमा विभिन्न कठिनाइ भोगिरहेका व्यक्तिका लागि आवश्यक सहयोगी सामग्री तथा प्रविधि निर्माण गर्ने अवधारणालाई तालिमले प्राथमिकतामा राखेको छ।
तालिमका क्रममा समस्या पहिचान, समाधानमुखी सोच, सहभागितामूलक डिजाइन, नवप्रवर्तन, स्थानीय स्रोतको प्रयोग, प्रविधिको व्यावहारिक उपयोग तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रयोगात्मक अभ्यास गराइनेछ।
उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष धर्मराज शाहीले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई समाज परिवर्तनको आधार बन्नुपर्ने बताए। कक्षाकोठामा हासिल गरेको ज्ञानलाई समुदायका वास्तविक आवश्यकतासँग जोड्न सके विद्यार्थीको शिक्षा अझ उपयोगी र प्रभावकारी बन्ने उनको भनाइ थियो।
प्रमुख अतिथि वृष बहादुर शाहीले प्राविधिक शिक्षालाई व्यवहार र सेवासँग जोड्नुपर्नेमा जोड दिए। विद्यार्थीमा रहेको प्राविधिक ज्ञान, सिर्जनशीलता र सीपलाई समाजमा देखिएका समस्याको समाधानमा प्रयोग गर्न सके त्यसले समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।
आयोजकका अनुसार आजका विद्यार्थी भोलिका स्वास्थ्यकर्मी, इन्जिनियर तथा समाजका नेतृत्वकर्ता हुन्। उनीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी समस्या पहिचान, सिर्जनशील सोच र समाधान निर्माणको अभ्यास गराउन सके भविष्यमा समाजले जिम्मेवार र सेवामुखी जनशक्ति प्राप्त गर्ने अपेक्षा गरिएको छ।
‘समस्या होइन, समाधान खोजौँस सहारा होइन, आत्मनिर्भरता सिर्जना गरौँ’ भन्ने मूल भावनाका साथ सञ्चालन गरिएको तालिमले प्राविधिक दक्षतासँगै विद्यार्थीमा मानवीय संवेदना, नेतृत्व क्षमता, सिर्जनशीलता र सेवाभाव विकास गर्ने लक्ष्य लिएको छ।
तालिमले स्थानीय स्रोत–साधन, प्रविधि र विद्यार्थीको सीपलाई एकीकृत गर्दै समुदायमा रहेका वास्तविक समस्याको स्थानीय समाधान खोज्ने अभ्यासलाई प्राथमिकता दिएको आयोजकले जनाएको छ। विशेषगरी कम लागतमा निर्माण गर्न सकिने सहयोगी सामग्री तथा प्रविधिको विकासमार्फत आवश्यकतामा रहेका व्यक्तिको दैनिक जीवन सहज बनाउने विषयमा समेत विद्यार्थीलाई प्रयोगात्मक रूपमा सहभागी गराइनेछ।
कार्यक्रमको सञ्चालन योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानकी संयोजक गौरा कुमारी घर्ती मगरले गरेकी थिइन्।
चारदिने तालिम सम्पन्न भएपछि सहभागी विद्यार्थीहरूले आफूले सिकेको ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्दै स्थानीय समस्या पहिचान र समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
आयोजकले तालिम सफल बनाउन सहकार्य गर्ने सामाजिक विकास मन्त्रालय, , एफएबी फाउन्डेसन नेपाल, प्रशिक्षक, विज्ञ, विद्यार्थी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।
थप भिडियो :






