तिला–२ जलविद्युत आयोजनाका लागि ५२ अर्ब ५५ करोड ऋण सम्झौता

  ।   २ भाद्र २०८३, मंगलवार २०:२२

कालिकोट । कालिकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाका लागि ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटेको छ। ऊर्जा तिला पावर कम्पनी प्रालिले विभिन्न बैंक तथा वित्तीय संस्थासँग वित्तीय व्यवस्थापन सम्झौता गरेको हो।

आयोजनाको कुल अनुमानित लागत ६८ अर्ब ६ करोड रुपैयाँ रहेको छ। लागतको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण र बाँकी २५ प्रतिशत स्वपुँजीबाट व्यवस्थापन गरिने कम्पनीले जनाएको छ। प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत शेयर छुट्याउने व्यवस्था गरिएको छ।

एभरेस्ट बैंक र सानिमा बैंकको अगुवाइमा प्राइम कमर्सियल, एनआईसी एशिया, ग्लोबल आईएमई, नबिल, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलगायत वित्तीय संस्था आयोजनामा सहभागी छन्।

आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँग २९६.७४ मेगावाटका लागि विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) समेत सम्पन्न भइसकेको छ। निर्माण सुरु भएको चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

तिला–२ अर्धजलाशययुक्त प्रकृतिको आयोजना हो। कालिकोटको तिलागुफा नगरपालिकामा बाँध र खाँडाचक्र नगरपालिकामा विद्युत गृह निर्माण गरिनेछ। आयोजनाबाट वार्षिक करिब २ हजार ३१८ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ।

वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजनाको निर्माण प्रक्रिया थप तीव्र हुने अपेक्षा गरिएको छ। आयोजना सञ्चालनमा आएपछि कर्णालीको विद्युत उत्पादन तथा स्थानीय आर्थिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको छ।

Next Post

भेरी नदीमा पहिचान नखुलेको पुरुषको शव फेला

२ भाद्र २०८३, मंगलवार २०:२२
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ। मंगलबार साँझ स्थानीयवासीले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार फेला परेको शव अन्दाजी २५ देखि ३० वर्ष उमेरका पुरुषको हो। घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट तरंगाबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर विष्टको नेतृत्वमा […]