भोकमरी र गरिबी अन्त्य गर्ने उद्घोष सहित रास्वपाको ‘बाचापत्र’ सार्वजनिक

  ।   ७ फाल्गुन २०८२, बिहीबार १५:४५

कर्णाली  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेश केन्द्रित ‘परिवर्तन उद्घोष सभा’मार्फत आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गरेको छ। वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा आयोजित सभामा पार्टी नेतृत्वले लोकतन्त्रको रक्षा, स्थिर सरकार, सुशासन र कर्णालीको समग्र विकासलाई मुख्य प्राथमिकताका रूपमा अघि सारे।

लोकतन्त्र जोगाउने शक्ति जनता नै : रवि लामिछाने

पार्टी सभापति रवि लामिछानेले लोकतन्त्र खतरामा परेको भन्दै त्यसको ठेक्का कुनै दल वा नेताले लिन नपर्ने बताएका छन्। “लोकतन्त्र जोगाउने शक्ति जनता हुन्। जनता जागेपछि लोकतन्त्र स्वतः बलियो हुन्छ,” उनले भने।

उनले परिवर्तनका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो रोज्नुपर्नेमा जोड दिँदै कर्णालीले विगतमा हिंसात्मक द्वन्द्वको ठूलो पीडा भोगिसकेको स्मरण गराए। “रोडबाट होइन, भोटबाट परिवर्तन गरौँ,” उनले आग्रह गरे।

आगामी २१ फागुनको निर्वाचनलाई देशको दिशा र भविष्य निर्धारण गर्ने अवसरका रूपमा चित्रण गर्दै उनले रास्वपालाई स्पष्ट जनादेश दिन आह्वान गरे। “पाँच वर्ष टिक्ने स्थिर सरकार आवश्यक छ। अस्थिरता दोहोरिन नदिन बहुमतसहितको सरकार दिनुहोस्,” उनले घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै भने, “उत्तर धेरैले दिए, अब समाधान दिने समय आएको छ।”

कर्णालीको सम्भावना बुझ्ने पार्टी रास्वपा : बालेन्द्र शाह

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको भौगोलिक, सामाजिक र सांस्कृतिक गहिराइ राज्यले वर्षौंदेखि बेवास्ता गरेको टिप्पणी गरे।

उनले कर्णालीका प्राकृतिक र सांस्कृतिक सम्पदाको उदाहरण दिँदै रारा ताल, कर्णाली नदी, डोल्पाजस्ता विशाल जिल्लाहरू तथा यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटीको उल्लेख गरे। यस्ता स्रोत हुँदाहुँदै पनि उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरणको अभावमा कर्णाली पछाडि परेको उनको भनाइ थियो।

“त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो,” उनले दाबी गरे। कर्णालीका स्याउलगायत कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने स्पष्ट नीति ल्याइने उनले बताए।

शाहले सिंजा उपत्यका लाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। भाषा, लिपि, कला, संस्कृति र जात्राको संरक्षणमार्फत पहिचान जोगाउनुपर्ने उनको भनाइ थियो।

गरिबी अन्त्यदेखि सुशासनसम्म प्राथमिकता

सभामा कर्णालीमा अझै उच्च भोकमरी, बालमृत्युदर र मातृमृत्युदर रहेको तथ्य उल्लेख गर्दै जनताको पीडा नजिकबाट बुझ्ने नेतृत्व आवश्यक रहेको बताइयो। “कर्णालीका जनताको सपना अब हाम्रो सपना हो,” शाहले भने।

सभापति लामिछानेले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। रास्वपाले सोही सभामार्फत प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित आफ्नो आधिकारिक वाचापत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि आधुनिकीकरण र युवा उद्यमशीलतालाई केन्द्रीय एजेन्डा बनाएको जनाएको छ।

यसअघि पार्टीले धनगढीमा पनि ‘परिवर्तन उद्घोष सभा’ सम्पन्न गरिसकेको छ। सुर्खेतको सभा कर्णाली प्रदेशमा रास्वपाको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

Next Post

नेतृत्व र सुशासनका लागि जेसीजको विशेष तालिम कार्यक्रम सम्पन्न

७ फाल्गुन २०८२, बिहीबार १५:४५
सुर्खेत। नेपाल जेसीज वर्ष २०२६ को कार्ययोजना अनुसार विभिन्न शाखाहरूको संयुक्त आयोजनामा बहु-अध्याय “संसदीय बैठक प्रक्रिया” प्रशिक्षण कार्यक्रम सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना सुर्खेत महिला जेसीज वर्ष २०२६ ले गरेको हो। सह–आयोजकका रूपमा दैलेख जेसीज वर्ष २०२६, कर्णाली जेसीज वर्ष २०२६, अछाम जेसीज वर्ष २०२६, भेरीगंगा जेसीज वर्ष […]

सम्बन्धित शीर्षक