कालिकोट । रास्कोट नगरपालिकाले गठन बजार अनुगमन समितीद्वारा नगर क्षेत्रमा व्यापक बजार अनुगमन सम्पन्न गरेको छ। आगामी भाद्र महिनाको दोस्रो साता सञ्चालन हुने परम्परागत रास्कोट मेलारजात्रा (पैठ) लाई लक्षित गर्दै अनुगमनलाई तीव्रता दिइएको हो।
नगरपालिकाको मुकाम आर।सिपि बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा म्याद सकिएका खाद्य तथा उपभोग्य सामग्री फेला परेपछि तत्काल नष्ट गरिएको नगर प्रहरी प्रमुख धनबहादुर शाहीले जानकारी दिए।
अनुगमन टोलीमा स्वयं नगर प्रमुख धर्मराज शाही ‘पोषण’ समेत सहभागी भएका हुन । उनले स्वच्छता, शुद्धता र गुणस्तरप्रति सचेत रहँदै उपभोक्तालाई स्वस्थ जीवन दिने उद्देश्यले नगरपालिकाले अनुगमनलाई नियमित र प्रभावकारी बनाएको बताए।
त्यस्तै, नगर उपप्रमुख मनिराज बरालले सबै व्यापारीलाई आफ्नो व्यवसाय मर्यादित र गुणस्तरीय बनाउन आग्रह गरे। “लाभभन्दा बढी उपभोक्ताको स्वास्थ्य र विश्वासलाई प्राथमिकता दिनु नै राम्रो व्यवसाय हो,” उनले भने।
नगरपालिकाले मेलापर्वको भीडलाई मध्यनजर गर्दै खाद्य सुरक्षासम्बन्धी अनुगमनलाई अझ निरन्तरता दिने जनाएको छ।