अपडेट

कालिकोटमा आत्मरक्षा र मानसिक स्वास्थ्य सम्बन्धि २ तालिम

  ।   ७ आश्विन २०८२, मंगलवार १७:१५

कालिकोट । कालिकोटमा आत्मरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी तालिम सुरु भएको छ। ग्रामीणमुखी युवा अभियान नेपालको आयोजनामा र युवा मानवअधिकार रक्षक सञ्जालको समन्वयमा कालिकोटको मान्ममा आयोजना गरिएको दुई दिने तालिम एआईएनको आर्थिक सहयोगमा सञ्चालन भएको हो।

कर्णाली प्रदेशका पाँच जिल्ला—मुगु, जुम्ला, हुम्ला, कालिकोट र दैलेखका मानवअधिकार रक्षक युवाहरूको सहभागिता रहेको तालिममा आत्मरक्षा सीप, मानसिक स्वास्थ्य सचेतना, समूहगत छलफल तथा अनुभव आदानप्रदानजस्ता विषय समेटिएका छन्।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले कर्णालीका पाँच जिल्लाका युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। उनले पछिल्लो राजनीतिक परिवर्तनमा युवाको भूमिकाबारे उल्लेख गर्दै भने, “देश परिवर्तनको मूल शक्ति युवा हुन्। वडा, पालिका, नगरपालिका हुँदै प्रदेश र संघसम्म युवाले नेतृत्व लिए स्थानीयदेखि राष्ट्रिय तहमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।”

विशेष अतिथि समन्वय समिति कालिकोटकी उपप्रमुख मिना रावल विश्वकर्माले महिलाविरुद्धको हिंसा, भेदभाव र सामाजिक विकृति विसङ्गति अन्त्यमा युवाहरू निरन्तर अग्रसर रहनुपर्ने अपेक्षा व्यक्त गरिन्। उनले भनिन्, “आत्मरक्षा र मानसिक स्वास्थ्य दुवै युवाको जीवनका आधारभूत पक्ष हुन्। यस्तो तालिमले विशेषगरी महिला र युवतीहरूलाई अझ सशक्त बनाउन मद्दत पुर्याउँछ।”

कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले युवालाई मुलुकको भविष्य निर्माण गर्ने शक्ति भन्दै तालिममार्फत समाजमा सकारात्मक सोच र दृष्टिकोण फैलन सक्ने बताए। उनका शब्दमा, “युवाले सही निर्णय लिन सिके भने समाजलाई गलत बाटोमा लाग्न दिँदैनन्। उनीहरू नै परिवर्तनका सही वाहक हुन्।”

इन्सेकका प्रतिनिधि कालीबहादुर मल्लले बदलिँदो सामाजिक परिस्थितिमा युवाहरू मानसिक दबाब र चुनौतीमा रहेको स्मरण गराउँदै तालिमले उनीहरूलाई आत्मबल दिन मद्दत गर्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कालिकोटकी उपाध्यक्ष राधिका बरालले युवाहरूलाई समाजका गलत कार्यविरुद्ध खरो आवाज उठाउन आग्रह गरिन्। उनले भनिन्, “देश र समाजको चिन्तन युवाको प्राथमिकता बन्नुपर्छ। आत्मरक्षा र मानसिक स्वास्थ्यजस्ता तालिमलाई स्थानीय तहले पनि आफ्ना योजनामा समावेश गर्न जरुरी छ।”

कर्णाली जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी खगेन्द्र पाण्डेले यस्ता तालिमहरूले युवाको आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउने बताए। उनले नेपाल जेसीज र युवा मानव अधिकार रक्षकबीच सहकार्य गरेर आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम अघि बढाउन सकिने धारणा राखे।

आयोजक संस्थाका प्रतिनिधिहरूले तालिमपछि सहभागीहरूले आफ्ना गाउँघर र समुदायमा सिकेका सीप र ज्ञान अन्य युवासम्म पुर्याउने अपेक्षा गरिएको बताए।

कार्यक्रममा सिएमसी नेपाल कालिकोट संयोजक लोक बहादुर बिक र युवा मानव अधिकार रक्षक कर्णाली प्रदेश संयोजक सन्तोष बिकले युवाको आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक विषयमा तालिम संचालन गरिएको हो ।

Next Post

कर्णालीका पाँच जिल्लाका युवालाई आत्मरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी सीप

७ आश्विन २०८२, मंगलवार १७:१५
कालिकोट । कालिकोटमा आत्मरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। ग्रामीणमुखी युवा अभियान नेपालको आयोजनामा र युवा मानवअधिकार रक्षक सञ्जालको समन्वयमा मान्म, कालिकोटमा आयोजित तालिम एआईएन (AIN ) को आर्थिक सहयोगमा मंगलबार सुरु भई बुधबार सम्पन्न भएको हो। कर्णाली प्रदेशका पाँच जिल्ला—मुगु, जुम्ला, हुम्ला, कालिकोट र दैलेखका […]