अपडेट

कर्णालीका पाँच जिल्लाका युवालाई आत्मरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी सीप

  ।   ८ आश्विन २०८२, बुधबार २०:१२

कालिकोट । कालिकोटमा आत्मरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। ग्रामीणमुखी युवा अभियान नेपालको आयोजनामा र युवा मानवअधिकार रक्षक सञ्जालको समन्वयमा मान्म, कालिकोटमा आयोजित तालिम एआईएन (AIN ) को आर्थिक सहयोगमा मंगलबार सुरु भई बुधबार सम्पन्न भएको हो।

कर्णाली प्रदेशका पाँच जिल्ला—मुगु, जुम्ला, हुम्ला, कालिकोट र दैलेखका मानवअधिकार रक्षक युवाहरूको सक्रिय सहभागिता रहेको तालिममा आत्मरक्षा सीप, मानसिक स्वास्थ्य सचेतना, समूहगत छलफल तथा अनुभव आदान–प्रदान जस्ता विषय समेटिएका थिए।

उद्घाटन सत्रमा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो। सो अवसरमा समन्वय समिति कालिकोटकी उपप्रमुख मिना रावल विश्वकर्मा विशेष अतिथि, कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलसहित अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

आयोजक संस्था रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष बिकले तालिमको उद्देश्य युवामा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्ने रहेको बताए। उनले सहभागी युवाहरूले सिकेका ज्ञान र सीप गाउँघरमा अन्य युवासम्म पुर्याउने अपेक्षा गरिएको पनि उल्लेख गरे।

त्यस्तै, सिएमसी नेपाल कालिकोट संयोजक लोक बहादुर बिकले तालिममार्फत मानसिक स्वास्थ्य, युवाको विशेषता, सकारात्मक सोच, द्रुतगामी र परिवर्तनमुखी व्यवहार जस्ता विषयमा प्रशिक्षण दिइएको जानकारी गराए।

उनका अनुसार युवालाई लक्ष्यप्रति समर्पित, ठूलो सपना देख्ने तर काम सानो–सानो बाट सुरु गर्ने, कठिनाइलाई चुनौतीका रूपमा स्वीकार्ने र श्रम गर्न तत्पर रहन प्रेरित गरिएको छ। साथै, सही मूल्य–आचरण, इमानदारी, दृढता, स्थायित्व र न्यायमा अडिग रही समाजमा योगदान पुर्याउने सन्देश तालिमले दिएको बताइयो।

कार्यक्रमले युवाको महत्व, जिम्मेवारी र समाजप्रतिको योगदानलाई अझ प्रष्ट्याउँदै भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा दिएको आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

Next Post

दोस्रो पुरमल स्मृति कप भलिबल प्रतियोगिता असोज १२ गते देखी

८ आश्विन २०८२, बुधबार २०:१२
कालिकोट । खाँडाचक्र नगरपालिका–३, ताडीमा यस वर्ष दोस्रो पुरमल शाही स्मृति कप पुरुष भलिबल प्रतियोगिता असोज १२ गतेदेखि सुरु हुने भएको छ। साबिक मान्म गाविसका उप–प्रधान तथा समाजसेवी स्व। पुरमल शाहीको सम्झनामा आयोजना हुँदै आएको यो प्रतियोगितामा खाँडाचक्र नगरपालिकाका सबै ११ वडाबाट टिमहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ। प्रतियोगिताको […]