अपडेट

संविधान दिवसको अवसरमा कालिकोटमा बिरामी, कैदीबन्दी र बालबालिकालाई फलफूल तथा खेलकुद सामग्री वितरण

  ।   २ आश्विन २०८३, शुक्रबार २०:२७

कालिकोट । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा कालिकोट सदरमुकाम मान्ममा सरसफाइ अभियानसँगै स्वास्थ्य सेवा कार्यालयका बिरामी, जिल्ला कारागारका कैदीबन्दी तथा ‘न्यानो काख’का बालबालिकालाई फलफूल र खेलकुद सामग्री वितरण गरिएको छ।

संविधान दिवस मूल समारोह समितिको निर्णयअनुसार असोज ३ गतेको मुख्य समारोहलाई लक्षित गरी शुक्रबार बिहान मान्म बजार क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो। अभियानमा स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, राष्ट्रिय सेवा कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित बहादुर शाही ले संविधान दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले “संविधानले दिएको नागरिक अधिकारसँगै आफ्नो गाउँठाउँ र बजार सफा राख्नु पनि सबैको कर्तव्य हो”भन्नुभयो।

यस्तै, स्वास्थ्य सेवा कार्यालय कालिकोटमा उपचाररत बिरामी, जिल्ला कारागारका कैदीबन्दी तथा ‘न्यानो काख’का बालबालिकालाई फलफूल वितरण गरिएको छ। बालबालिकालाई खेलकुद सामग्रीसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

फलफूल तथा खेलकुद सामग्री वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीलाल भट्टराईले संविधान दिवसका अवसरमा गरिने यस्ता सामाजिक तथा मानवीय गतिविधिले दिवसको महत्व थप बढाउने बताउनुभयो। उहाँले संविधानले प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकार र स्वास्थ्यको हक सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको व्यवहारिक कार्यान्वयनमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमले सरसफाइसँगै बिरामी, कैदीबन्दी र बालबालिकासँग खुसी साट्ने वातावरण सिर्जना गरेको आयोजकको भनाइ छ। कार्यक्रम सफल बनाउन सहयोग तथा समन्वय गर्ने सम्बन्धित सबै पक्षप्रति आयोजकले आभार व्यक्त गरेको छ।

Next Post

संविधान दिवस तथा राष्ट्रिय दिवस आज, संविधान कार्यान्वयन र उपलब्धिको समीक्षा गर्ने अवसर

२ आश्विन २०८३, शुक्रबार २०:२७
काठमाडौं ।आज असोज ३ गते, संविधान दिवस तथा राष्ट्रिय दिवस । नेपाली जनताले लामो राजनीतिक संघर्ष, त्याग र बलिदानपछि संविधानसभाबाट नेपालको संविधान जारी गरेको ऐतिहासिक दिनको स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । वि।सं। २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । संविधान […]

सम्बन्धित शीर्षक