रतन रावल,
मुगु । मुगु जिल्लाका खेलाडीहरूले प्रथम इन्डो–नेपाल खुला मार्शल आर्ट प्रतियोगितामा १९ र २० मा सञ्चालन भएको उल्लेखनीय तथा गर्विलो सफलता हासिल गरेका छन्। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा मुगुका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम उजागर गर्न सफल भएका हुन्।
प्रतियोगितामा केटा तर्फ ४०–४५ केजी तौल समूह अन्तर्गतको फाइटमा मुगुका भूपिन्द्र कामीले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भए। त्यसैगरी, २५–३० केजी तौल समूह मा सहभागी दीपक बुढाले पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरी स्वर्ण पदक हात पारे।
त्यसै प्रतियोगितामा केटी तर्फ ३०–३५ केजी तौल समूह अन्तर्गत वर्षा साहानीले द्वितीय स्थान हासिल गर्दै रजत पदक जित्न सफल भइन्। उनको प्रदर्शनले महिला खेलाडीहरू पनि कुनै हिसाबले कमजोर छैनन् भन्ने सन्देश दिएको छ।
मुगु जिल्लाबाट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई दक्ष तथा अनुभवी प्रशिक्षक आदेश विश्वकर्माले प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षक विश्वकर्माका अनुसार प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक भए पनि नियमित अभ्यास, कडा अनुशासन, आत्मविश्वास र सही मार्गदर्शनका कारण मुगुका खेलाडीहरू सफल हुन सकेका हुन्। उनले यस सफलताले जिल्लाका युवा तथा बालबालिकालाई मार्शल आर्ट खेलतर्फ थप आकर्षित र प्रेरित गर्ने विश्वास व्यक्त गरे।
मुगुका खेलाडीहरूको यस ऐतिहासिक सफलताले जिल्लाको खेलकुद क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मुगुको पहिचान मजबुत बनाएको स्थानीय खेलप्रेमीहरूको भनाइ छ। उनीहरूले आगामी दिनमा सरकार तथा सरोकारवालाहरूले खेलाडीहरूलाई आवश्यक सहयोग, पूर्वाधार र प्रोत्साहन दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
यस सफलताले मुगुका खेलाडीहरूको मेहनत, लगनशीलता र क्षमतालाई प्रमाणित गर्दै भविष्यमा अझ ठूलो उपलब्धि हासिल गर्ने सम्भावनालाई उजागर गरेको छ।







