पहिरोमा परि २ जनाको मृत्यु, घट्ट पिस्न पुगेका स्थानीय घर फर्कन सकेनन्

  ।   २९ असार २०८३, सोमबार १९:२६

कालीकोट । सान्नीत्रिवेणी गाउँपालिका–६ को पोरिवनस्थित काप्रिखोलामा सोमबार बिहान गएको पहिरोमा पुरिएर दुई स्थानीयको ज्यान गएको छ। अन्न पिस्न परम्परागत घट्ट पुगेका उनीहरू अचानक आएको लेदोसहितको पहिरोमा परेका हुन्।

मृत्यु हुनेमा मेहलमुडी धामीगाउँका ४६ वर्षीय मन्दिर साँवत र ७६ वर्षीय लालबहादुर सावँद रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार सोमबार बिहान करिब ६ बजेतिर दुवै जना काप्रिखोलास्थित घट्टमा अन्न पिसिरहेका बेला करिब २५ मिटर माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो खसेर घट्ट पुरिएको थियो। पहिरोले उनीहरूलाई भाग्ने अवसरसमेत नदिई क्षणभरमै पुरेको प्रहरीले जनाएको छ।

घटना बिहानै भए पनि स्थान दुर्गम र सञ्चार पहुँच कमजोर भएकाले स्थानीयले दिउँसो मात्रै प्रहरी चौकी मेहलमुडीलाई खबर गर्न सकेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्काको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी चौकीबाट करिब १० किलोमिटर कठिन पैदल यात्रा पार गरी टोली दिउँसो करिब २ बजे घटनास्थल पुगेको थियो। स्थानीयवासीसँगको सहकार्यमा पहिरो हटाएर खोजी गर्दा दुवै जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्री को नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का, अनुसन्धान तथा अन्य कानुनी प्रक्रिया अघि बढाएको छ।

यस घटनाले मेहलमुडी धामीगाउँ शोकाकुल बनेको छ। वर्षौंदेखि स्थानीयको दैनिकीसँग जोडिएको परम्परागत घट्ट पनि पहिरोले ठूलो क्षति पुगेको छ। वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएकाले उच्च जोखिम भएका भीरपाखा तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

Next Post

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, चार मन्त्रीको सामूहिक राजीनामा

२९ असार २०८३, सोमबार १९:२६
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामापत्र बुझाउँदै सरकारबाट बाहिरिएका हुन्। राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी […]