सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अहिलेसम्म पार्टी केन्द्रबाट कुनै निर्देशन नआएको बताएको छ ।
केन्द्रीय नेतृत्व तहमा नेकपा र एमालेबिच समीकरण बन्ने चर्चा चलिरहे पनि अहिलेसम्म पार्टी केन्द्रबाट सत्ता समीकरणबारे कुनै निर्णय र निर्देशन नआएको नेकपा कर्णालीका नेता बताउँछन् । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाहीले केन्द्रबाट यो दलसँग सहकार्य गर भनेर अहिलेसम्म नभनिएको बताए ।
‘यसबारेमा अहिलेसम्म संयोजकज्यूसँग कुनै कुरा भएको छैन । म काठमाडौँ गएको पनि छैन, सुर्खेतमै छु,’ उनले भने । प्रचण्डले सकेसम्म एमालेसँगै सहकार्य अघि बढाऊ भन्ने निर्देशन दिएको चर्चा भए पनि आफूकहाँ उक्त कुरा नआएको उनले बताए । ‘मलाई त केन्द्रले पूर्ण रूपमा निर्देशन दिएको जस्तो लाग्दैन । प्रदेशका अन्य नेताहरूबाट पनि मलाई यसबारे कुनै जानकारी प्राप्त भएको छैन,’ उनले थपे, ‘एमालेसँगको सत्ता समीकरण र वाम एकताको छलफल कर्णालीमा मात्र होइन, देशभरि नै चलिरहेको छ । यो सकारात्मक विषय हो, तर यसको परिणाम कस्तो आउँछ भन्ने मुख्य कुरा हो ।’
एमालेसँग विगतका छलफल र तिनका उपलब्धि राम्रो हुन नसकेको शाहीले बताए । उनले भने, ‘अघिपछि केही नहुने, अहिले वाम एकताको चर्चा गरियो, यदि त्यसो भए पनि स्वच्छ मनले हुनुपर्छ । विगतमा दुई–तीन पटक यस्ता प्रयासहरू नकारात्मक ढंगले विसर्जन भएका छन् । यो रातारात कोठाभित्र बसेर टुङ्गिने विषय होइन । यसमा विगतको समीक्षा, आगामी योजना र लिखित प्रतिबद्धताहरू आवश्यक पर्छन् ।’
कर्णालीमा गत बिहीबार नेकपासँग मिलेर कांग्रेसले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । तर नेकपाका केन्द्रीय नेताले अहिले नेकपाको लाइन सत्ता नरहेको र प्रदेशमा सही निर्णय नभएको भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
नेकपाभित्र सत्ताको विषयमा दुई धार देखिएका छन् । कतिपयले कर्णालीका नेकपाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा सहभागी हुँदा पार्टी केन्द्रसँग समन्वय नगरिएको बताएका छन् । यद्यपि दलका नेता शाही भने यतिठुलो निर्णय गर्दा समन्वय स्वाभाविक रूपमै भएको दाबी गरे ।
‘केन्द्रीय नेताहरूले सामाजिक सञ्जालमा यस्ता कुरा लेख्नु कति ठिक हो, त्यो छुट्टै प्रश्न होला,’ उनले भने, ‘पार्टीको आफ्नै पद्धति र प्रक्रिया हुन्छ, हाम्रा कामहरू पद्धति अनुसार भएनन् भने पार्टीको बैठकमा छलफल हुनुपर्छ ।’
“हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ” “हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ “साथै, उनले कुनै पनि केन्द्रीय नेताले कर्णालीको निर्णय गलत भयो वा बिग्रियो भनेर नलेखेको पनि बताए । बरु वाम एकताको बहस नबिग्रियोस् भन्ने शुभेच्छा मात्र राखिएको उनको भनाइ छ ।
‘हामीलाई सत्तामा जान हतारो पनि हैन । कसैलाई हतारो भयो भन्ने लाग्नु स्वाभाविक हो, तर यो परिस्थितिको उपज हो,’ शाहीले थपे, ‘कांग्रेस र एमालेबिच खटपट भएर कांग्रेस सरकारबाट बाहिरिएपछि कर्णालीमा सत्ता सङ्कट उत्पन्न भयो । कांग्रेसका मन्त्रीहरूले राजीनामा दिए र मुख्यमन्त्रीले स्वीकृत पनि गर्नुभयो । कांग्रेसले नयाँ मन्त्री पठाउन इच्छा देखाएन ।’
यस्तो अवस्थामा निकास दिनका लागि नेकपाले सरकार निर्माणको पहल गरेको शाही बताउँछन् । यसलाई सत्ताका लागि गरिएको दौडधुपको रूपमा मात्र बुझ्न नहुने उनले बताए । ‘हामीले कर्णालीको वस्तुगत अवस्था हेरेर यो कदम चालेका हौँ,’ उनले थपे ।
यदि केन्द्रमा एमालेसँग समीकरण बनेको खण्डमा के गर्नुहुन्छ रु भन्ने प्रश्नमा शाहीले भने, ‘यो अहिले अनुमानको कुरामात्र हो । भोलि केन्द्रले जे निर्णय गर्छ, त्यसपछि मात्र हामी के गर्ने भन्ने टुङ्गोमा पुग्छौँ । अहिले अनुमानका भरमा कुनै परिणामको परिकल्पना नगरौँ ।’ यो समाचार रातोपाटी बाट साभार गरिएको हो ।






