दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीप्रतिको भरोसा र विश्वास भएको :मुख्यमन्त्री कँडेल

  ।   २ भाद्र २०८१, आईतवार १०:२६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीप्रतिको भरोसा र विश्वास भएको बताउनु भएको छ ।

शनिबार वीरेन्द्रनगरमा आयोजित प्रतियोगिताको तयारीसम्बन्धी सरोकारवालासँगको छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना हुने कुराको देश तथा विदेशबाट मूल्यांकन हुने बताउनु भएको हो ।

मुख्यमन्त्री कँडेलले अहिले नै खेलकुद प्रतियोगिताको लागि दिनगन्ती सुरु भइसकेको भन्दै व्यवस्थापन कमजोर हुन नदिन सबैसँग आग्रह गरे । निर्धारित समय अनुसार आगामी मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । त्यसबेलासम्म अहिलेको अवस्था अनुसार व्यवस्थापन कमजोर रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

प्राप्त बजेटबाट दक्षता देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै ठाउँ–ठाउँ पुगेर विभिन्न माग नराख्न ध्यानाकर्षण समेत गर्नुभएको छ । गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गर्नुभयो । कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम प्रयास गरी निराश हुन नदिने प्रतिबद्धता जनाउनु भयो ।

आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताउनु भयो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न भूमिका अनुसारको दायित्व पूरा गर्नुपर्ने उनको भनाई थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेट लगायतका व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमको अध्यक्षता समेत गरेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्धारित प्रतिस्पर्धी खेलहरुमध्य थप खेलहरु समावेश गर्नका लागि आफ्ना तर्फबाट गर्नुपर्ने कामहरू आन्तरिक रूपमा बढाइरहेको जानकारी दिए । प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा रहेको प्रष्ट पार्नुभयो ।

उनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु हो र कर्णालीले दुई अंकको पदक लिनु पर्ने चुनौती देखिएको बताए । यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षण सहितका आवश्यक व्यवस्थापनका लागि तयारी भैरहेको बताउनु भयो । व्यवस्थापनको पक्षमा कुनैपनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषदलाई निर्देशन दिनुभएको छ ।

 

Next Post

सांकेतिक तस्बिर

पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध

२ भाद्र २०८१, आईतवार १०:२६
सुर्खेत । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ । करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि […]