कालिकोट । कर्णाली जेसिजको १४औँ पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम कर्णाली जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि खगेन्द्र पाण्डेको सभाअध्यक्षतामा सुरु भई जेसिज वर्ष २०२६ का नव–निर्वाचित अध्यक्ष जेसि प्रभुराम पाण्डेको सभाअध्यक्षतामा समापन भएको हो।

कार्यक्रमका क्रममा वर्ष २०२५ का अध्यक्ष जेसि खगेन्द्र पाण्डेले वर्ष २०२६ का लागि अध्यक्ष पदमा निर्वाचित जेसि प्रभुराम पाण्डेलाई आफ्नो गलामा रहेको चाँदीको माला लगाइदिँदै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले कर्णाली जेसिजले युवाहरूलाई नेतृत्व, सेवा र व्यक्तित्व विकासमा सशक्त बनाउँदै आएको उल्लेख गर्दै जेसिजजस्ता युवामुखी संस्थाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनीहरूले कर्णाली प्रदेशको समग्र विकासका लागि यस्ता संस्थाहरू अपरिहार्य रहेको धारणा व्यक्त गरे।

सभाअध्यक्ष तथा वर्ष २०२५ का अध्यक्ष जेसि खगेन्द्र पाण्डेले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “सम्पूर्ण सदस्यहरूको साथ, सहकार्य र समर्पणकै कारण हामीले कर्णाली जेसिजको गरिमालाई अझ उचाइमा पुर्याउन सफल भएका छौँ। आगामी नेतृत्वले संगठनलाई थप सशक्त र प्रभावकारी रूपमा अघि बढाउने विश्वास लिएको छु।”
त्यसैगरी नव–निर्वाचित अध्यक्ष जेसि प्रभुराम पाण्डेले जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै भन्नुभयो, “कर्णाली जेसिजलाई सेवा, नेतृत्व र सकारात्मक परिवर्तनको नमुना संस्थाका रूपमा स्थापित गर्नु मेरो लक्ष्य हो। अघिल्ला अध्यक्षहरू तथा सम्पूर्ण सदस्यहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात गर्दै अझ प्रभावकारी कार्यक्रमहरू अघि बढाउनेछु।”

कार्यक्रमको सञ्चालन कर्णाली जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाहीले गर्नुभएको थियो। उहाँले सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै जेसिज वर्ष २०२६ अझ उत्कृष्ट र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कर्णाली जेसिज वर्ष २०२० का अध्यक्ष जेसि सबिन कुमार बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा कालिकोटका उम्मेदवार प्रकाश न्यौपाने भकरान्तै, कर्णाली जेसिज वर्ष २०२६ का पदाधिकारीहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







